टोल विकास संस्थामा पदाधिकारीलाई नेतृत्व विकास तालिम 

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं २ अन्तर्गत रहेका टोल विकास संस्थाका पदाधिकारीहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । रत्ननगर जेसीजको जेसीज सप्ताह २०८१ अन्तर्गत वडा नं २ वडा कार्यालयको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ । तालिमको वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले उद्घाटन गरेका थिए ।

रत्ननगर जेसीजका पूर्व अध्यक्ष विश्वास श्रेष्ठले प्रशिक्षक रहेको सो कार्यक्रममा ५५ जनाको सहभागिता रहेको महासचिव सुरेशजंग पाण्डेले जानकारी दिए । कार्यक्रममा सप्ताहका संयोजक रामप्रसाद पाण्डेले सप्ताह व्यापी कार्यक्रमको बारेमा जानकारी गराउदै समुदाय केन्द्रीत कार्यक्रम गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घिमिरेले जेसीजले गर्ने सामाजिक कामले आफु प्रभावित रहेको भन्दै जेसीज सप्ताह प्रर्वद्धन हुने गरी टोल विकास संस्थाका पदाधिकारीहरुको नेतृत्व विकासको लागि तालिम आयोजना गरेको बताए ।

जेसीजका अध्यक्ष नरहरि पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु रमा भट्टराई, नरेन्द्र श्रेष्ठ, रत्ननगर जेसीजका पूर्वअध्यक्ष हेमराज आचार्य लगायतको उपस्थिति रहेको थियो । महासचिव पाण्डेले सञ्चालन गरेको सो कार्यक्रममा तालिम संयोजक किरण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । जेसीज सप्ताह अन्तर्गत वैशाख २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने छ । जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजी गर्दै सामाजिक काम गरेर मनाउन थालिएको भन्दै अध्यक्ष पुरीले समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker