लौरीघोल तालमा जनप्रतिनिधिको अनुगमन : स्थानीय समुदाय उत्साहित

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले ऐतिहासिक महत्व बोकेको लौरीघोल ताललाई पर्यटकीय स्थल निर्माणका लागि काम सुरु गरेको छ ।

चालु आर्थिक बर्षमा ४० लाख विनियोजन गरी सो नगरपालिकाले लौरीघोल तालको मुहान संरक्षणबाट पर्यटकीय स्थल निर्माणको काम सुरु गरेको हो । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहासंग जोडेर लौरीघोल ताललाई आर्कषक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने मेयर प्रलाद सापकोटाले जानकारी दिए । लौरीघोललाई पर्यटकीय पार्कको रुपमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने योजना रहेको उनको भनाई छ ।

लौरीघोल ताललाई विकास गरी पर्यटकीय गन्तव्य बनाउन स्थानीय समुदायले पनि स्थानीय सरकारलाई साथ दिएका छन् । ताल निर्माणका लागि नगरपालिकाले नागरिकस्तरबाट लौरीघोल ताल तथा सार्वजनिक जग्गा संरक्षण समिति र व्यक्तिगत सम्पत्ति सुरक्षाका लागि सार्वजनिक–निजी साझेदारी ऐन निर्माण काम अगाडि बढाएको हो । लौरीघोल तालमा करिब तीन किलोमिटरमा ११५ जनाको १३ बिघा र साढे तीन विघा ऐलानी जग्गा रहेको छ । पर्यटन प्रवद्र्धन र स्थानीयको जीविकोपार्जनको आधार तयार गर्न टाँडी बजारनजिक रहेको लौरीघोल ताललाई विकास गरी सुन्दर पर्यटकीय पार्क निर्माण गर्न थालिएको उनले बताए ।

मेयर सापकोटाले स्थानीय सरकार र जग्गाधनीको संयुक्त लगानी हुने गरी ताल निर्माणको योजना अघि सारिएको बताए । पानीको स्रोत संरक्षण गर्दैै पर्यापर्यटन मार्फत स्थानीयको जीवन स्तर उकास्ने गरी लौरीघोल ताललाई विकास गर्न थालिएको हो । जग्गाधनीको सम्पत्ति सुरक्षा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै उनले पर्यटकीय पार्कबाट हुने आम्दानी शेयरको प्रतिशतका आधारमा बाँडफाँट गर्ने बताए । जग्गाधनीको जग्गाको मूल्य निर्धारण गरी सो रकम शेयरमा परिणत गरेर संयुक्त लगानीको वातावरण बनाइने भन्दै मेयर सापकोटाले जग्गाधनीको हितका लागि अर्को एउटा विकल्पसमेत अघि सारेका छन् । धनीले जग्गा भाडामा दिने हो भने प्रतिकठ्ठा वार्षिक दुई हजारसम्म भाडा दिने योजना अघि सारिएको छ ।

लौरीघोल तालमा पर्यटन पूर्वाधार अन्तर्गत सुन्दर पोखरी निर्माण, भ्यू टाबर, साइकल लेन निर्माण गर्ने योजना रहेको छ । रत्ननगरका पुराना व्यवसायी तथा स्थानीयबासी गोपाल कर्मचार्यले लौरीघोल ताल संरक्षण र विकासको लागि विगतमा भएका प्रयास असफल भएको भन्दै अहिले स्थानीय सरकारले स्वामित्व ग्रहण गरेर काम सुरु गरेपछि आशाको किरण पलाएको बताए । पर्यटनका लागि मात्र होइन, लौरीघोल ताल पानीको लागि पनि बचाउनु पर्ने अबस्था छ उनले भने पानीको स्रोत संरक्षणको लागि पनि यसलाई जोगाउनु पर्छ ।

उनले भूमिगत जल सिन्चीतिको लागि पनि लौरीघोल तालको मुहान संरक्षण गर्नुपर्ने बताए । लौरीघोल ताल संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणको काम सुरु भएपछि सोमबार रत्ननगरका जनप्रतिनिधिहरुले त्यसको स्थलगत अबलोकन गरेका छन् । मेयर सापकोटाको नेतृत्वमा वडाध्यक्ष, कार्यपालिका सदस्य, व्यवसायी तथा सामाजिक अगुवाहरुले स्थलगत निरीक्षण गरी लौरीघोल तालको महत्व र निर्माणका बारेमा स्थानीय समुदायलाई जानकारी गराएका हुन् । लौरीघोल तालमा पर्यटक आएभने फाइदा स्थानीय समुदायलाई हुन्छ मेयर सापकोटाले भने पर्यटकीय पूर्वाधार निर्माण गरी सौराहा आएका पर्यटकलाई यहाँ ल्याउने योजना छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker