बछौलीमा स्वास्थ्य शिविर : तीन सय जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा बुधबार आयोजित समुदायमा आधारित दन्त सहित नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविरमा स्थानीय ३०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले बछौली स्वास्थ्यचौकीसंग सहकार्य गरी आयोजना गरेको सो शिविरमा १९७ दाँताका विरामी सहित ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको बछौली स्वास्थ्यचौकी प्रमुख केशव पौडेलले जानकारी दिए ।

वडा नं ६ का वडाध्यक्ष किरण महतोको अध्यक्षतामा भएको उक्त शिविरको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उद्घाटन गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षको लागि रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि मात्र पाँच लाख रुपैया विनियोजन गरेको बताए । नागरिकको स्वास्थ्य रक्षाका लागि स्थानीय सरकार जिम्मेबार रहेको भन्दै उनले अतिविपन्नको निशुल्क स्वास्थ्य बीमा र विपन्नको ५० प्रतिशत अनुदानमा बिमा गर्ने गरिएको बताए । उनले नागरिकको उपचारकै लागि उपचार कोष स्थापना गरिएको भन्दै आर्थिक अभावका कारण उपचार नपाएका नगरबासीले रत्ननगर अस्पतालमा १० हजार देखि २५ हजार सम्म उक्त कोषबाट सेवा लिन सक्ने बताए । जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत दीपक पंगेनीले पछिल्लो समय नर्सने रोगका कारण मानिसको मृत्यू हुने दर बढ्दै गएको भन्दै नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउन र रोग पहिचानको लागि शिविर आयोजना गरिएको बताए ।

रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँले नागरिकको स्वास्थ्य सुरक्षाको विकास संवेदनशिल रहेको भन्दै नसर्ने रोगको न्यूनीकरणको लागि पालिकाले योजना बनाएर काम गरिरहेको बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker