हजारौं रोजगारी गुम्न नदिन सपिङ मल यथाशक्य सञ्चालन गर्नुपर्छ : उज्वल के.सी

उज्वल के.सी, मल व्यवस्थापक

चितवन । कोभिड-१९ को संक्रमण रोकथामको उद्देश्यले चैत ११ गतेदेखि सरकारले लागू गरेको लकडाउनको म्याद जेठ ३२ गते सकिएको छ । लकडाउनले गर्दा सर्वसाधारणको रोजीरोटी खोसिनेदेखि सरकारलाई कर्मचारीको तलब खुवाउने पैसाकै अभाव भएपछि सरकारले व्यवसाय र सर्वसाधारणको आवगमनमा लगाइएको प्रतिबन्ध केही खुकुलो बनाएको हो ।

सरकारको उक्त कदमसँगै सर्वसाधारणले थोरै भए पनि राहतको सास फेर्न पाएका छन् । सरकारको उक्त कदमले दिनभरी कमाएर बिहान-बेलुकाको छाक टार्नुपर्ने मजदुर लगायत भाडाको घरमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी, व्यवसायीलाई राहत हुने निश्चित छ । सरकारले झण्डै तीन महिनादेखि ठप्प रहेको व्यवसाय सञ्चालन गर्ने अनुमति दिए पनि सपिङ मलहरुमाथि भने प्रतिबन्ध कायमै राखेको छ ।

सुरक्षा, सरसफाइ एवं अन्य सुविधाका हिसाबले परम्परागत पसल र किनमेल केन्द्रको तुलनामा निकै व्यवस्थित सपिङ मलमाथिको प्रतिबन्धले सर्वसाधारण र व्यवसायी अचम्मित भएका छन् । स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड अवलम्बन नगर्ने परम्परागत पसल र सपिङ सेन्टरहरु खोल्न पाउने तर आधुनिक सुविधासम्पन्न मल खोल्न नपाउने सरकारको निर्णयबाट सम्बद्ध व्यवसायीले विभेदको अनुभूति गरेका छन् एकातिर भने उनीहरुको करोडौं लगानी डुब्ने तथा हजारौंको रोजगारी खोसिने खतरा झन्झन् बढेको छ ।

सामान्यतया कुनै रोग र महामारीको जोखिम नभएको अवस्थामा पनि सपिङ मलहरुले सरसफाइमा निःसंक्रमित रसायनहरु प्रयोग गर्दै आएका हुन्छन् । व्यवस्थित र सफा शौचालय फराकिलो ठाउँ तथा उपयुक्त पूर्वाधारका कारण आधुनिक सपिङ मलहरुमा सामान्य अवस्थामै पनि कोभिड १९ को संक्रणण रोक्न अपनाउनुपर्ने दुई मिटरको सामाजिक दुरी कायम भइरहेको हुन्छ । त्यसमाथि कोरोना भाइरस संक्रमणको जोखिम रहेको अहिलेको अवस्थामा परम्परागत किनमेल केन्द्रहरुमा भन्दा सपिङ मलमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न/गराउन सजिलो छ । सपिङ मल सञ्चालक एवं त्यहाँ व्यवसाय गरेर बसेका व्यवसायीहरु अहिलेको परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा र सरसफाइप्रति अझ बढी सजग छन् । पर्याप्त सुरक्षाकर्मी, सिसी क्यामेरा तथा पर्याप्त स्थानले गर्दा सपिङ मलमा आउने ग्राहकले सुरक्षा सावधान अपनाए/नपअनाएको, स्यानिटाइजर प्रयोग गरे÷नगरेको जस्ता कुराको अनुगमन गर्न सपिङ मलमा सजिलो हुन्छ ।

परम्परागत किनमेल केन्द्रमा भन्दा फरक आधुनिक सपिङ मलहरुमा नगदको प्रयोग नगरिकन र बिक्रीका लागि राखिएका सामानहरु धेरै नचलाइकनै किनमेल गर्न सकिने सुविधा उपलब्ध छ । यस मानेमा आधुनिक सपिङ मलहरु परम्परागत किनमेल केन्द्रको तुलनामा धेरै बढी सुरक्षित छन् । सपिङ मलका एउटा आउटलेटमा एकै किसिमको सामान मात्र किनबेच हुने भएकाले पनि त्यहाँ अनावश्यक व्यक्तिहरुको भीडभाड र जमघटको सम्भावना रहँदैन । उदाहरणका लागि जुत्ता बिक्री गर्ने पसलमा अन्य सामान खोज्ने ग्राहक जाँदैन र अन्य सामानको पसलमा जुत्ता खोज्ने ग्राहक पुग्दैन ।

यसरी हेर्दा सरकारले आधुनिक सपिङ मलहरु खोल्नमा लगाएको प्रतिबन्ध अत्यन्तै अवैज्ञानिक ठहर्छ । तसर्थ विश्व स्वास्थ्य संगठनले तोकेका प्रोटोकल पालना गर्ने गरी सपिङ मलहरु खोल्न दिएर जोखिममा परेको अर्बौं लगानी र हजारौं रोजगारी बचाउनुपर्छ । बेलैमा यसतर्फ कदम चाल्न नसके बेरोजगारी र चर्को ऋणभारले निम्त्याउने सामाजिक तनावको सिकार हामी नै हुनुपर्ने पक्का छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker