खेलकुद र पर्यटनलाई जोड्न सकेमा मात्रै समृद्ध नेपाल निर्माण हुन्छ

१४औँ चितवन महोत्सवको अवसरमा आज नारायणगढमा आयोजना गरेको ‘खेल पर्यटनको गन्तव्य : चितवन’ विषय पर्यटन गोष्ठी

३० पुस, चितवन । खेलकुद र पर्यटनलाई जोड्न सकेमा मात्रै समृद्ध नेपाल निर्माण हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । उद्योग वाणिज्य संघ चितवनले १४औँ चितवन महोत्सवको अवसरमा आज नारायणगढमा आयोजना गरेको ‘खेल पर्यटनको गन्तव्य : चितवन’ विषय पर्यटन गोष्ठीमा सहभागीहरुले खेल पर्यटनको माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउन नसक्दा नेपालको विकास पछाडि धकेलिएको बताए । पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको नेपाललाई खेल पर्यटनसँग जोड्नु अहिलेको आवश्यकता भएको बरालीको भनाइ छ । खेलकुद र पर्यटनलाई जोड्ने कुरामा मानिसहरुको ध्यान पुग्न नसकेको बरालीले बताए ।
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुनः निर्माणमा सबैले सहयोग आवश्यक रहेको बरालीको भनाइ छ । उक्त रंगशाला निर्माण भएको अवस्थामा खेल पर्यटन मार्फत चितवनको मात्र नभएर देशकै आर्थिक अवस्था चलायमान हुने बरालीले बताए । जिल्लामा धेरै खेलकुदका सम्भावनाहरु भएको उनको भनाइ थियो ।
कार्यक्रममा स्रोत व्यक्ति एवं भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्वराज सुवेदीले विश्व अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनले ओगटेको भए पनि नेपालले त्यसको लाभ लिन नसकेको सुवेदीले बताए । नेपालमा जल पर्यटन, पर्वतीय पर्यटन, हिमाली पर्यटन, वन तथा वन्यजन्तुलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने सुवेदीको भनाइ छ । चितवनमा अन्तर्राष्ट्रिय खेलहरु खेलाउन सकेको खण्डमा चितवनमा मात्रै वार्षिक एक लाख विदेशी पर्यटक भित्र्याउन सकिने सुवेदीले बताए ।
सोही कार्यक्रममा अमेरिकाका लागि पर्यटन प्रवद्र्धन राजदुत विनोद अधिकारीले ठूला दुई राष्ट्रको बीचमा रहेको नेपालले पर्यटनको क्षेत्रमा लाभ लिन सक्नुपर्ने बताए । चितवनमा ठूला नदी, पहाड, निकुञ्ज र दुर्लभ वन्यजन्तु पाइने भन्दै यसको प्रचारसँगै नदी र पहाडमा खेलकुदका गतिविधि गर्नुपर्ने अधिकारीले बताए । चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले चितवनमा खेलको पूर्वाधारका लागि आएको बजेट पनि काम गर्न नसक्दा अन्यत्र रकमान्तर भएर जानु लाजमर्दो विषय भएको बताए ।
खेलकुदको विकासका लागि खेलसँग सम्बद्ध संघसंस्थामात्रै नभएर निजी, सार्वजनिक तथा सरकारी संघसंस्थाहरुको सहयोग आवश्यक रहेको गुरुङको भनाइ छ । त्यसैगरी, गैरआवासीय नेपाली संघका प्रवक्ता एवं बेलायतका लागि पर्यटन प्रवद्र्धन राजदुत सोम सापकोटाले नेपालको पर्यटनलाई कसरी विश्वमाझ पु¥याउन सकिन्छ भनेर आफूहरु लागिपरेको बताए । विश्वमा हुनेभन्दा फरक गतिविधिलाई समेटेर नेपालमा खेलकुदसँगै पर्यटक भित्र्याउन सकिने सापकोटाको भनाइ थियो ।
कार्यक्रममा नासा फाउण्डेशनका प्रमुख गोविन्द भट्टराईले मुलुकको विकासका लागि खेल पर्यटनसँगै पूर्वाधारहरु पनि हुनुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नारायणीमा बिच भलिबलसहित धेरै सम्भावना भएकाले सरकारको ध्यान जानुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका पर्यटन संयोजक अशोक अधिकारीले पर्यटन क्षेत्र चलायमान भएको अवस्थामा सबै क्षेत्र सहज रुपमा सञ्चालन हुने बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker