साईकलिङ प्रतियोगितालाई थप प्रोत्सहान गर्नु पर्छ : अध्यक्ष रेनु दाहाल

भरतपुर । प्रज्ञा स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साईकलिङ प्रतियोगितालाई थप प्रोत्सहान गर्नुपर्ने बताउनुभएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले भरतपुर–११ गणेशधाम परिसरमा आयोजना गरेको तेस्रो प्रज्ञा स्मृति साईकिलिङ प्रतियोगितालाई सम्पान गर्दै उहाँले अन्य विधाका खेलको तुलनामा साईकिलिङ प्रतियोगिता कम हुने भएकाले थप प्रोत्सहान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अरु विधाका खेलहरु भईरहेका हुन्छन्, उहाँले भन्नुभयो,‘साईकलिङ सम्बन्धी प्रतियोगिता कम हुने गरेको छ । अन्य खेल सरह साईकिलिङ प्रतियोगितालाई अघि बढाउनु पर्ने आवश्यकता छ । प्रतिष्ठानले वर्षमा एक पटक भएपनि साईकिलिङ प्रतियोगिता गर्दै आइरहेको छ ।’
महानगर प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ भर यस्ता कार्यक्रमहरु निरन्तर भइरहने पनि उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले शनिबार भएको प्रतियोगिताको पुरुष र महिला टोलीका विजेतालाई मेलेसियामा हुने एसियन क्यालिफायर खेलकुदमा सहभागि गराइने जानकारी दिनुभयो ।
प्रतिष्ठानले विगतका वर्षहरु क्यान्सर सम्बन्धी सचेतनामूलक अभियान गरेको र आगामी साईकिलिङ प्रतियोगितालाई सम्पूर्ण खेलाडीलाई समेट्ने गरी परिकृत र परिर्माजित गरिने उहाँले बताउनुभयो ।
दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष साईकिलिङ प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।
बाल्यकालदेखि युवा अवस्थासम्म स्व दिदी ज्ञानु र भाई प्रकाशले सबै इच्छा चाहाना छोडेर मुलुकको परिवर्तनको लागि भूमिका निर्वाह गर्नु भएपनि अल्पायुमा निधन भएको स्मरण गर्नुभयो ।
सिंगो परिवार देश परिवर्तको लागि जनयुद्धमा होमिएका कारण कक्षा १२ भन्दा बढी अध्ययन गर्न नपाएको उहाँले बताउनुभयो ।
स्व दिदी ज्ञानु र भाई प्रकाशले देखेको सपनालाई पुरा गर्न सधै तत्पर रहने उहाँको भनाइ थियो ।
वागतमी प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्नुभएको प्रतियोगितामा ६ विधामा १०० जना खेलाडीले प्रतिस्पर्धा गरेको थिए ।
यसैबीच शनिबार भएको खेलमा पुरुष ईलिटतर्फ सिन्धुपाल्चोक घर भएको सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएको कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिनुभयो ।
रानाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै कञ्चनपुरका हिमाल तामाङले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थान धादिङका लक्ष्मण मल्ल प्राप्त गरे। उनले नगद ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।
भरतपुरको पुन्यवती ताल गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्रको रेस र्कोषमा १ घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगिले ७ पटकसम्म परिक्रममा गरेका थिए ।
यस्तै महिला ईलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो भइन् । काठमाडौँकी लक्ष्मी मगरले १ घण्टा १८ मिनेट २३ सकेण्डमा निर्धारित दूरी पार गरी दोस्रो बनिन्। पाँचथरकी इन्द्रकला नेबाङ १ घण्टा २१ मिनेट ३७ सकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो बन्न सफल भइन्।
यस्तै पुरुष मास्टरतर्फ सिन्धुपाल्चोकका हर्कबहादुर लामाले निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सकेण्डमा पार गर्दै उपधि हात पारे । काठमाडौँका विकास महर्जनले एक घण्टा १४ मिनेट २९ सेकेण्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले १ घण्टा १९ मिनेट ५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पार्न सफल भए ।
पुरुष जुनियरतर्फ उदयपुरका निमा शेर्पाले एक घण्टा ११ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पारे । सुनसरीका सञ्जय राईले १ घण्टा १३ मिनेट ३७ सेकेण्डमा सो दूरी पार गरी दोस्रो बने भने मकवानपुरका राजिव ठाकुरले १ घण्टा २३ मिनेट २८ सेकेण्डमा पार गर्दै तेस्रो बने।
चितवन विशेष पुरुषतर्फ प्रमित थापा प्रथम, हेम चन्द्र सुनार दोस्रो र कृष्ण घिमिरे तेस्रो बन्न सफल भए । यसैगरी चितवन विशेष महिलातर्फ सुधा तिमिल्सिना प्रथम, मोसमी आले दोस्रो र जुना श्रेष्ठ तेस्रो बन्न सफल भएका थिए ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडाको सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहेको थियो । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगर प्रर्बद्धक रहेको थियो भने हस्पिटल पार्टनरका रुपमा पुरानो मेडिकल कलेज सिएमएस रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker