एकल महिलालाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका एकल महिलाहरुलाई तनाव व्यवस्थापन तथा कानुनी अधिकार सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरिएको छ ।

रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय एकल महिला समनवय समितिले आयोजना गरेको सो कार्यक्रम सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँले उद्घाटन गरेका थिए । कार्यक्रममा अगुवा महिला उर्मिला पोखरेलले एकल महिलालाई अधिकारसंगै जीविकोपार्जनको आधार तयार गर्नुपर्ने बताइन् । विपन्न समुदायका एकल महिलालाई आयआर्जनको लागि सीप मुलक तालिम सञ्चालन गर्नु पर्ने उनले बताइन् ।

नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष गीता देवकोटाले एकल महिलाहरु राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक रुपमा अग्रणी स्थानमा रहेको भन्दै आर्थिक अबस्था कमजोर भएका महिलाहरुको जीविकोपार्जनको लागि सहयोग गरिएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समितिका संयोजक चापागाईँले तनावले जीवनलाई तहसनहस बनाउने भन्दै जीवनलाई खुसी राख्न सक्नु ठुलो उपलब्धि हुने बताए ।

कार्यक्रममा ओमशान्तिका राष्ट्रिय प्रशिक्षक राजु घलेले तनाव व्यवस्थापनका लागि जीवन जिउने कला र महिला विकास अधिकृत दीपा घिमिरेले एकल महिलाका अधिकार र कार्यान्वयनका लागि भएको प्रयासका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा ९० जना महिलाहरु सहभागी थिए । नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती पौडेलले स्वागत मन्तब्य राखेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker