रत्ननगरमा ९० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु, ७३ युवा सहभागी

लोकप्रिय खबर
११ मंसिर २०८३, बिहिवार
रत्ननगर (चितवन), मंसिर १० ।
स्थानीय युवाहरूलाई निजामती तथा सार्वजनिक सेवामा प्रवेश गराउने उद्देश्यले रत्ननगर नगरपालिकाले ९० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत बिहीबार नगरपालिकाको सभाहलमा एक औपचारिक समारोहका बीच उक्त कक्षाको समुद्घाटन गरेको हो।
लोकसेवा सारथी प्रा.लि., खैरहनी-८, पर्साको सहजीकरणमा सञ्चालन हुने यस तयारी कक्षामा रत्ननगरका विभिन्न वडाबाट आवेदन दिएका ७३ जना युवायुवती सहभागी भएका छन्।
कार्यक्रमका सभाध्यक्ष एवं रत्ननगर नगरपालिकाका नगर उपप्रमुख यादव प्रसाद पाठकले ब्यानर वाचन गरेर कक्षाको समुद्घाटन गर्नुभएको थियो। समारोहलाई सम्बोधन गर्दै उपप्रमुख पाठकले १२ कक्षा उत्तीर्ण गर्नेबित्तिकै वैदेशिक रोजगारीका लागि बिदेसिने युवाहरूको प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वदेशमै राष्ट्र सेवामा समर्पित गराउन नगरपालिकाले यो कार्यक्रम ल्याएको बताउनुभयो। निःशुल्क उपलब्ध गराइएको यस अवसरलाई हल्का रूपमा नलिई ९० दिनसम्म (दैनिक दुई घण्टाका दरले १८० कक्षा) निरन्तर उपस्थित भएर अध्ययन गर्न उहाँले सहभागीहरूलाई आग्रह गर्नुभयो।
समारोहमा विशिष्ट अतिथि एवं प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले निजामती सेवाको परीक्षा फलामे ढोका नभई निरन्तर अभ्यास, धैर्यता र सही रणनीतिको खेल भएको बताउनुभयो। लोकसेवाको तयारीमा जुट्ने विद्यार्थीहरूलाई ‘५ प’ अर्थात् पाठ्यक्रम, पाठ्यपुस्तक, पुनरावृत्ति (रिभिजन), प्रयास (प्राक्टिस) र प्यासन (धैर्यता) को सूत्र अपनाउन सुझाव दिँदै उहाँले भन्नुभयो, “धेरै किताब थुपार्नुभन्दा एउटै स्तरीय किताब पाँच पटक पढ्नु प्रभावकारी हुन्छ। परीक्षामा कति जानियो भन्दा पनि सोधिएको प्रश्नको उत्तर कति सफा र आकर्षक शैलीमा प्रस्तुत गरियो भन्ने कुराले सफलता निर्धारण गर्छ।”
वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले नगरपालिकाले विगत तीन वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको यस कक्षाबाट विगतमा पनि धेरै युवाहरूले सरकारी सेवामा नाम निकाल्न सफल भएको स्मरण गर्नुभयो। “आज हामी जनप्रतिनिधिको हैसियतमा छौँ, भोलि तपाईँहरू प्रशासकीय अधिकृत र कर्मचारी बनेर कार्यकक्षमा बस्दा हामी सेवाग्राहीका रूपमा फाइल बोकेर आउन पाउने सौभाग्य मिलोस्,” उहाँले शुभकामना व्यक्त गर्नुभयो।
स्वागत मन्तव्य राख्दै प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सबिता अर्यालले अघिल्ला वर्षहरूमा नगरपालिकाले सञ्चालन गरेको कक्षाबाट करिब १५ जना परीक्षार्थीले लोकसेवा तथा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएको जानकारी दिनुभयो। घरव्यवहार र पारिवारिक जिम्मेवारीका बाबजुद पनि महिला सहभागीहरूको उल्लेख्य उपस्थिति देख्दा खुसी लागेको बताउँदै उहाँले ९० दिनको कक्षालाई मार्गदर्शनका रूपमा लिएर स्वअध्ययनमा जोड दिन आग्रह गर्नुभयो।
सहजीकरण संस्था लोकसेवा सारथी प्रा.लि.का प्रोप्राइटर महेश घिमिरेले चौथो र पाँचौँ तह (खरिदार/नायब सुब्बा) तथा सहायक स्तरको पाठ्यक्रममा आधारित रहेर अनुभवी प्रशिक्षकहरूद्वारा कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो। कक्षा अवधिभर १५ वटा नमुना परीक्षा (मोक टेस्ट), आवश्यक अध्ययन सामग्री (ह्यान्डआउट्स) तथा अनलाइन फारम भर्नेदेखि परीक्षा केन्द्रसम्मको सहजीकरण संस्थाले गर्ने उहाँले स्पष्ट पार्नुभयो।
प्रशासन शाखा अधिकृत (छैटौं) रमा रेग्मीले लोकसेवा उत्तीर्ण गरी सहकर्मीका रूपमा नगरपालिकामै स्वागत गर्न आतुर रहेको भावपूर्ण कविता वाचन गर्दै कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। समारोहमा कार्यपालिका सदस्यद्वय राजेन्द्र हमाल र रामबहादुर रिमाल, आर्थिक प्रशासन शाखा प्रमुख प्रदीप पौडेल लगायतको आतिथ्यता रहेको थियो।

आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI