चुनावी प्रचार-प्रसारको समयावधि सकिदै गर्दा उम्मेदवारहरु अन्तिम कसरतमा लागेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशी अन्तिम दिन पनि घरदैलो अभियान गरेका छन् ।
जोशीले आज भरतपुर महानगरपालिका १० मा घरदैलो तथा विभिन्न सामाजिक संस्था तथा समुहसंग भेटघाट र अन्र्तक्रिया गरेका छन् । सो क्रममा मतदाताले जोशी जस्तो युवा देशकै लागि आवश्यक रहेको भन्दै जित निश्चित रहेको बताएका छन् ।
स्थानीय मतदाता धुर्व सुवेदीले जोशी जस्तो निष्ठाको राजनीति गर्ने स्वच्छ छबीका युवा नेताको विजयी आजको आवश्यकता रहेको बताए । उनले जोशीले मतादातालाई निराश नबनाउनेमा आफू विश्वस्त रहेको बताए । जोशीको पक्षमा मतदान गर्न आफूहरु आतुर रहेको उनले बताए ।
अर्का मतदाता मिना गुरुङले जोशी युवा मात्र नभई एक कुशल नेता भएको बताईन् । जोशी सधैं भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउदै आएको भन्दै उनको जित निश्चित रहेको बताए । उनले अन्य मतदातालाई पनि जोशीको पक्षमा मतदान गर्न आग्रह गरे ।
कांग्रेस क्षेत्र नम्बर २ का सदस्य रचन कार्कीले जोशीको पक्षमा जनमत बढेको बताए । उनले यस क्षेत्रका मतदाताहरु जोशीलाई मतदान गर्न उत्साहित रहेको बताए ।
जोशीले मतदाताहरुले युवा नेतृत्व खोजेकोले नै आफू चुनावमा होमिएको बताए । उनले आफूलाई युवा उम्मेदवारको रुपमा मतदाताले गरेको विश्वास टुट्न नदिने प्रतिवद्धता जनाए । चितवनका युवादेखि वृद्ध-वृद्धाको समस्यालाई आफूले नजिकबाट बुझेको भन्दै कसैलाई निराश हुन नदिने बताए ।
उनले चितवनका हरेक समस्यासँग आफू भिज्दै आएको भन्दै मतदाताले गरेको माया र सद्भावलाई कहिल्यै खल्बलाउन नदिने बताए । हिजोका दिनमा पनि भ्रष्टाचार, वेथिति ,अनियमितताको विरुद्ध लड्दै आएकोले अब आफू निर्वाचित भएमा भ्रष्टाचार न्यूनिकरण र युवा रोजगारी पहिलो प्राथमिकता हुने जोशीको भनाई थियो ।