
काठमाडाै । सिन्धुपालचोकमा भूकम्पपीडित माझीहरूका लागि बस्ती निर्माण गरिरहेकी श्वेता खड्काले माझीहरुलाई विचल्ल्लीमा पारेको टिप्पणी सुरु भएको छ ।सामाजिक सञ्जालमा लामो पत्र लेख्दै श्वेताले उनले चार वर्षअघिबाट माझी बस्ती निर्माण सुरु गरेको र सो बस्ती निर्माण अहिले अन्तिम चरणमा पुगेको उनले बताएकी छन् ।
५३ घर निर्माण गरिरहेको बताउने श्वेताले ती घरमा बस्ने ३ सय २२ जना जना संख्यामध्येबाट केही व्यक्तिलाई जबरजस्ती बोल्न लगाएर आफ्नो बदनाम गरिएको आरोप लगाइन् ।आफूले फाउन्डेसनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित कसैले गर्छ भने त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राखेकी छन् । र यतिबेला आफूलाई खेद्ने, लखेट्ने र विचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्ने पनि श्वेताले दाबी गरेकी छन् ।
आफूले व्यक्तिगत रूपमा ३२ लाख रूपैयाँ दिएर सुरु गरेको सो बस्ती निर्माण विभिन्न सहयोगीको साथले अहिले अन्तिम चरणमा पुगेको उनको भनाइ छ । कैयांै मिटिङ र झन्झटिलो कागजी प्रक्रियापश्चात् मात्र माझिटोलमा सहयोग पुगेको पनि उनको कथन छ । ती सबैको हिसाब आफूसँग भएको पनि श्वेताले दाबी गरेकी छन् । हिजोको दिनमा आफूलाई कसैले सहयोग नगर्दा पनि यो बस्ती निर्माणको लागि जुटेको र अहिले सबैतिरबाट सहयोग मिलिरहेकाले आफू कत्ति पनि विचलित नभएको पनि श्वेताले बताएकी छन् ।
यो परियोजना माझीटोललाई जबरजस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्थानीय उपभोक्ता समिति नै काफी भएको पनि उनले बताएकी छन् । श्वेताको भनाइमा बस्ती निर्माणपूर्व नै आठ वटा घरको डिजाइनमध्येबाट हालको डिजाइन रोज्ने स्थानीयवासी नै हुन् ।
नेपाल सरकारबाट भूकम्पपीडितले अनुदान स्वरूप पाउने ३ लाख रकमभित्रैबाट बन्ने घरका डिजाइन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अति नै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानीयवासीकै सहमतिमा हालको घरको डिजाइन तयार गरिएको पनि यी अभिनेत्रीले स्पष्ट पारेकी छन् ।घर निर्माणका लागि प्राविधिकहरूले तयार गरेको अनुमानित लागत ८ लाख २५ हजार रुपैयाँ भएको र केही दाताले ढोकालगायत जस्तापाता सहयोग गर्ने प्रतिबद्धता दिए अनुरूप सो सामग्रीको मूल्य कटाएर ७ लाख मूल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मूल्य निर्धारण गरी काम थालेको पनि उनले जनाएकी छन् ।
त्यसमा पनि सरकारी अनुदानबाहेक अन्य नपुग रकम ४ लाख रुपैयाँ ऋण स्वरूप लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमति जुटाउने पनि स्थानीय उपभोक्ता समिति नै भएको पनि उनले स्मरण गराएकी छन् । त्यसैले आफूसँग बस्ती निर्माणका सबै कागजात र हिसाब रहेको यी अभिनेत्रीको दाबी छ ।उनले यतिखेर माझी टोलमा इँटा र सिमेन्ट जडित भौतिक पूर्वाधारहरू मात्र बनेका छैनन् भन्दै बस्ती बन्दै गर्दा मानसिक रूपमा पनि सशक्त बन्दै गएको दाबी गरेकी छन् । बनाएको घर भत्किने तर मानसिक सशक्तीकरण कहिल्यै नभत्किने यी अभिनेत्रीको कथन छ । उनले माझी बस्तीले इमानदारितापूर्वक जसरी पनि पूर्ण बनाएर हस्तान्तरण गर्ने बताएकी छन् ।