मन्त्री जोशीको निर्देशनमा बकुलहर अस्पतालका सबै शैया निशुल्क

२ भदौ । पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका सबै शैया निःशुल्क गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शैया निःशुल्क गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि लागू हुने गरी शैया निःशुल्क गरिएको छ । अस्पतालमा रहेका ९० शैया मध्ये आईसियू, एनआईसियू र क्याबिन बाहेकका शैया निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा क्याबिन, एनआईसियू र आईसियू गरी १४ शैया रहेका छन् । बाँकी ७६ शैया निःशुल्क गरिएको डा.ज्ञवालीको भनाई छ ।

अस्पतालमा यस अघि नै १० प्रतिशत शैया र उपचार निःशुल्क गरिसकिएको डा.ज्ञवालीले जानकारी दिनुभयो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मातहतका १३ वटा अस्पतालका सबै शैया निःशुल्क गर्न निर्देशन दिएको थियो । साउन २२ गते स्वास्थ्य मन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क गर्ने निर्णय गर्नुभएको थियो ।

यसैगरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको थियो । मन्त्रालयको निर्देशनपछि अस्पतालहरुले निःशुल्क सेवा दिन शुरु गरेका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker