नेपालमै पहिलोपटक प्रदेश सांसदको सार्वजनिक सुनुवाई सम्पन्न

चितवन । चितवन क्षेत्र नं. ३ (ख)का बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको निर्वाचित भएयता सम्पादित काम तथा सेवा प्रवाहका बारेमा (पहिलो) सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

स्वदेश एफ.एम.को आयोजना र सहजिकरणमा आइतबार सञ्चालन भएको (पहिलो) सार्बजनिक सुनुवाईमा सहभागी रहँदै वडाका राजनैतिक दल र वडाबासीहरुले आफ्ना सवाल र सुझावहरू प्रस्तुत गरेका हुन ।

कार्यक्रमका सहभागीहरुले निकुञ्जको बाटो धूलो रहित वा कालोपत्रे बनाउन चलिरहेको प्रक्रिया, रिउ करिडोर निर्माण र भूमिहीनहरुले जग्गाको लालपूर्जा पाउन भइरहेको रोकावटका बारेमा सवाल गरेका थिए । त्यसैगरी माडी नगरपालिका र संघीय संसदसंगको सहकार्य वा समन्वय बढाउनुपर्ने, माडीको विकासमा अभिभावकको भूमिका निभाउनुपर्ने र सबै दल तथा सरोकारवालाहरुसंग एकाकार भई अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरी बाँदरझुलामा बिजुलीको व्यवस्था, रौतनी खोलामा पुल निर्माण, लक्ष्मुनियाँमा भत्किएको पुल निर्माण, अयोध्याधामका लागि बजेट विनियोजन, युवा स्वरोजगार, बिपन्न लक्षित कार्यक्रम सञ्चालन, उद्यमीहरुका लागि सहुलियत कर्जाको व्यवस्था आदि माग उठान भएको थियो ।

सहभागी नगरबासी एबं दलीय प्रतिनिधिहरूको सवाल र सुझावहरुलाई प्रदेश सांसद ठाकुर प्रसाद ढकालले उत्तरित गर्नुभएको थियो । नेपालमै पहिलोपटक प्रदेश सांसदको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । यसअघि, स्वदेश एफ.एम.ले माडीमा सबै वडा र नगर कार्यपालिका स्तरमा सार्वजनिक सुनुवाई सञ्चालन गरेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker