लाइसियममा लागु औषध सचेतना सम्बन्धी अनुशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले वडा नं १, ९ र १० तथा इलाका प्रहरी कार्यालय रत्ननगरको समन्वयमा लागु औषध दुव्र्यसनको वर्तमान अवस्था र सजगता सम्वन्धी तीन दिने अनुशिक्षण कार्यक्रम गरेको छ ।

चैत्र २७ गतेबाट सञ्चालित उक्त अनुशिक्षण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १, ९ र १० का टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम के.सीले लागु औषधको कुलतमा पर्नाका कारण र त्यसबाट जोगिनका लागि अभिभावकको भूमिकाका लगायत लागु औषधको वर्तमान अवस्थाका सम्वन्धमा प्रकाश पारेका थिए ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले लागु औषधको वर्तमान अवस्थालाई न्यूनीकरण गर्न स्थानीय सरकार र प्रहरीसंगको समन्वयमा लाइसियम स्कुलले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा टोल स्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गरी वडालाई लागु औषध मुक्त बनाउने प्रयास गर्ने बताए । कार्यक्रममा वडा नम्वर १० का वडाध्यक्ष कलाधर पौडेलले अहिले एकले अर्कालाई दोषारोपण मात्र गर्ने गरेको, मैले के गरेँ भन्दा पनि के पाएँ भन्ने गरेको, अर्काको विग्रेकोमा खुशी मान्ने प्रथा बढ्दै गएकोले विभिन्न अपराधिक क्रियाकलाप बढ्दै गएकोमा लागु औषधको दुव्र्यसन समेत बढेकोले सोच बदल्ने, सकारात्मक सोच्ने खालका कार्यक्रमहरुको आवश्यकता रहेको बताए । उनले लाइसियम स्कुलले लागु औषध सम्वन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले नगरपालिका र वडा कार्यालयले आयोजना गर्नु पर्ने विभिन्न सचेतनामूलक कार्यक्रम लाइसियम स्कुलले सञ्चालन गरी समाजलाई सुसुचित बनाउन विगत देखिनै विभिन्न कार्यक्रम सञ्चालन गरी उत्कृष्ठ ढंगले सामाजिक उत्तरदायित्व बहन गरि रहेको बताए । उनले आफु अत्यन्त प्रभावित भएको र आगामी दिनमा लाइसियम स्कुलसंग समन्वय गरी ९ नम्वर वडामा टोल स्तरमै लागु औषध सम्वन्धी वृहद् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा लागु औषध दुव्र्यसनको वर्तमान अवस्था र सजगताका सम्वन्धमा लाइसियम स्कुलका प्रवन्ध निर्देशक सन्तोष पन्तले सहजीकरण गरेका थिए भने प्रधानाध्यापक शंकर पौडेल, शिक्षक भिमा कुमारी थापा र शान्ति अधिकारीले आवश्यक व्यवस्थापन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker