रत्ननगर उवासंघमा प्रदेशका अर्थ मन्त्री थपलियालाई स्वागत तथा सम्मान

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले पूर्वी चितवनको विकासको लागि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई लिखित ध्यानर्कषण गराएको छ । मन्त्रीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा संघले सौराहाको पर्यटन, रत्ननगर अस्पतालको विकास, युटिलिटी करीडोर तथा कृषि र पशुपालनको विकासका लागि गर्नुपर्ने काम सहितको ११ बुँदे योजना सहित ध्यानर्कषण गराएको हो ।

संघका अध्यक्ष शंकर गिरीले सौराहाको पर्यटन, अस्पताल, लौरीघोल तालाको विकास तथा कृषि र पशुपालन सहितको योजनाबारे मन्त्री थपलियालाई ध्यानर्कषण गराएका हुन । कार्यक्रममा बोल्दै मन्त्री थपलियाले निजीक्षेत्रको विकासप्रतिको चिन्ता सकरात्मक रहेको भन्दै संघले उठाएका विषयहरुमा आफु प्रतिबद्ध भएर काम गर्ने बताए । उनले पूर्वी चितवनको रत्ननगर रहेको बकुलहर अस्पताल र आयुर्वेदिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा अगाडि बढाउने बताए ।

मन्त्री थपलियाले बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने शिक्षा, स्वास्थ्य, कृषि, यातायात जस्ता अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले नेपालमा उत्पादित व्यवसायहरुको संरक्षण गर्न सरकारले सहुलीयतपूर्ण कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

संघका पूर्व अध्यक्ष ज्ञान बहादुर विसुरालले मन्तव्य राखेका सो कार्यक्रममा संघले प्रकाशित गरेको नयाँ क्यालेण्डर विमोचन पनि गरिएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्य, पूर्व अध्यक्ष, विभिन्न बस्तुगत समितिका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो । संघका उपाध्यक्ष रामशरण नेपालीले धन्यवाद मन्तव्य राखेको कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker