रत्ननगरका दलित महिला सदस्यलाई उद्घोषण तालिम

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका दलित महिला सदस्यहरुका लागि दुई दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ ।

बागमी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले तालिमको आयोजना गरेको हो । दलित महिला सदस्यहरुको व्यक्तित्व विकास गरी उनीहरुलाई नगरको विकासमा क्रियाशिल गराउने उद्देश्यले उद्घोषणकला तालिम आयोजना गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । तालिमको उद्घाटन गर्दै उपमेयर यादवप्रसाद पाठकले दलित महिला सदस्यहरुलाई अधिकार र विकास निर्माणका विषयमा अग्रसर बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

क्षमता कमजोर हुँदा महिला सदस्यहरुलाई जिम्मेवारी पुरा गर्न नसकेको भन्दै उपमेयर पाठकले आफ्नो समुदाय र वडाको विकासका लागि आफुलाई सक्षम बनाउन आग्रह गरे । दलित महिलासदस्यहरुले पद अनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उनले वडामा सशक्त उपस्थिति देखाउनुपर्नेमा जोड दिए । कार्यपालिका सदस्य, दलीत महिला सदस्य र समन्वय समिति गठन भएका वडा समितिका पदाधिकारी गरी ३५ जनाको सहभागिता रहेको सो तालिममा सञ्चारकर्मी गोपाल विश्वकर्माले सहजीकरण गरेका छन् । उनले तालिममा सहभागीहरुलाई बोल्नेकलाको लागि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने बताए ।

तालिममा महिला विकास अधिकृत घिमिरेले विपन्न दलित सशक्तिकरण कार्यक्रमको कार्यविधिका बारेमा सहजीकरण गरेकी छन् । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य राजेन्द्र हमालले स्वागत मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य एशोदा पौडेल, बविता चौधरी लगायतको उपस्थिति रहेको थियो । बागमति प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले दलित समुदायको क्षमता विकास, उनीहरुको परम्परागत पेशाको संरक्षणको लागि विपन्न दलित सशक्तिकरण कार्यक्रम प्रदान गरेको हो ।

सो कार्यक्रमको लागि मन्त्रालयले विनियोजन गरेको ५ लाख २५ हजार र रत्ननगरले ७३ हजार ७०० गरी गरी ५ लाख ९८ हजार रहेको छ । सो कार्यक्रम अन्तर्गत दलित समुदायको परम्परागत सीप र पेशाको संरक्षण, विकास, हस्तान्तरण र पुस्तान्तरणको लागि योजना बनाएर काम सुरु गरिएको महिला विकास अघिकृत घिमिरेले जानकारी दिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker