रत्ननगरको बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट तथा तीन विधेयक सर्वसम्मत पारित भएको छ ।

रत्ननगर नगरपालिकाले पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा सुशासन प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजार रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

नगरको १५औँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तुत गरेको बजेट तथा सुशासन समितिका संयोजक कलाधर पौडेलले पेस गरेको कर तथा गैरकरसम्बन्धी विधेयक-२०८१ दोस्रो सभाले आइतबार सर्वसम्मत पारित गरेको हो ।

यस्तै एकीकृत सम्पत्ति कर तथा भूमिकरसम्बन्धी व्यवस्थाका लागि उपप्रमुख पाठकले पेस गरेको आर्थिक विधेयक-२०८१ पनि सर्वसम्मत रुपमा पारित भएको छ । यसैगरी अघिल्लो आर्थिक वर्षको संरक्षित बजेट खर्च गर्ने प्रयोजनले बनेको विनियोजन विधेयक-२०८१ सर्वसम्मत पारित भएको छ ।

प्रशासन शाखाका प्रमुख सबिता अर्यालले सञ्चालन गरेको नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभाको समापन गर्दै नगरप्रमुख सापकोटाले जनप्रतिनिधिका रुपमा २६ महिनाको अवधिमा नगरवासीलाई स्थानीय सरकारको अनुभूति हुने गरी विकास, पर्यटन, नगर गौरवका आयोजना, ब्लड बैंक लगायतका गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।

सभामा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगर प्रवक्ता कुलप्रसाद सापकोटा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका प्रमुख एवं सचिवहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker