रत्ननगर नगरपालिकाका सात जना कर्मचारीको कदरपत्रसहित बिदाइ

रत्ननगर । रत्ननगर नगरपालिकाले सेवा निवृत्त भएका सात जना कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरेको छ ।

संस्थागत क्षमता विकास तथा सुशासन समितिका संयोजक कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सात जना कर्मचारीलाई बिदाइ गरिएको हो ।

सम्मानित हुनेहरुमा पशु विकास अधिकृत शालिग्राम पौडेल, शिक्षा शाखाका अधिकृत राजेन्द्रप्रसाद अर्याल, जयन्तीदेवी रानाभाट, कुमारी राधा चौधरी, नगर प्रहरी नामब निरीक्षक हिमाल खड्का, सरसफाइकर्मी गोमादेवी घर्ती र चिजामाया दमै रहेका छन् ।

सबै कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरिएको थियो भने सरसफाइकर्मी दमैलाई नगद ५० हजार रुपैयाँसहित बिदाइ गरिएको हो ।

३८ वर्ष निजामती सेवा गरी अवकाश भएका पशु विकास अधिकृत पौडेलले आफूले चितवनका हरेक वडामा पुगेर किसानका समस्या समाधान गरेको स्मरण गर्दै सरकारी सेवा कालमा कोही कसैसँग अनुचित कार्य नगरेको बताए । सेवा कालपश्चात् समाजसेवामा सक्रिय हुने उनले बताए ।

यस्तै २०५५ साउन ४ देखि सरकारी सेवामा प्रवेश गरी २०७४ असोज २ देखि रत्ननगरमा समायोजन भई १० महिना शिक्षा शाखाको प्रमुख भई काम गरेको र रत्ननगरको शिक्षा क्षेत्रमा नमुना कार्य गरेको अनुभव उनले सुनाए । रत्ननगरले आवश्यक ठाने आफ्नो अनुभव र ज्ञान सधैँ दिन तत्पर रहेको बताए ।

प्रशासन शाखाका प्रमुख सविता अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रलाद सापकोटाले कर्मचारीलाई जनप्रतिनिधिले शासन होइन व्यवस्थापन गर्दै समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । कर्मचारीलाई सम्मान गर्दै नगरलाई सुशासनमा अगाडि बढाउन र जनतालाई सेवा प्रदान गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल , वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker