पूर्वी चितवन भवन निर्माण व्यवसायी संघको रजत जयन्तीमा एकताको अपिल

लोकप्रिय खबर
२२ मंसिर २०८२, सोमबार
सारांश
Summary by AI
  • यहाँ लेखको संक्षिप्त सारांश बुँदामा प्रस्तुत गरिएको छ:
  • भवन निर्माण व्यवसायी संघ, पूर्वीचितवनले आफ्नो स्थापनाको २५औँ वर्षगाँठ (रजत जयन्ती) तथा २४औँ साधारणसभा सम्पन्न गरेको छ ।
  • कार्यक्रमका अधिकांश वक्ताहरूले निर्माण व्यवसायीहरू विभिन्न संघ-संगठनमा विभाजित हुँदा उनीहरूको आवाज कमजोर भएको र सरकारले उनीहरूका मुद्दालाई महत्त्व नदिएको गुनासो गरे ।
  • एकताको आवश्यकतामा जोड दिँदै, सबै व्यवसायीहरू एउटै संगठनमा गोलबन्द भएमा हकहितका मुद्दाहरू बलियो हुने धारणा व्यक्त गरियो ।
  • रजत जयन्तीको अवसरमा संघले संस्थापक सदस्यहरू, उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू, ज्येष्ठ नागरिक र अन्य सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरेको थियो ।
00:00 / 00:00
🔊
Audio By AI

रत्ननगर, मंसिर २२ ।

भवन निर्माण व्यवसायी संघ पूर्वीचितवनले स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती तथा २४औँ साधारणसभा सोमबार रत्ननगरमा सम्पन गरेको छ । रत्ननगर-२ मा रहेको शिवालय मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा पूर्वी चितवनका निर्माण व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले निर्माण व्यवसायीहरू फरक–फरक संगठन र संघमा छरिएर रहँदा आफ्नै हकहितका मुद्दा कमजोर बनेको र केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले निर्माण व्यवसायीहरूलाई उचित महत्त्व नदिएको गुनासो गरे।

कार्यक्रमका प्रमुख अतिथि निर्माण व्यवसायी समन्वय समिति चितवनका उपाध्यक्ष शशिधर सुवेदीले सबै निर्माण व्यवसायीहरू फरक–फरक संगठनमा छरिएर रहँदा आफ्नै मुद्दा कमजोर बनेको बताए। उनले सबैलाई एउटै संगठनमा गोलबन्द हुन आग्रह गर्दै एकताबद्ध भएमा व्यवसायीको हकहित र मुद्दा अघि बढाउन सहज हुने तथा समग्र क्षेत्र बलियो बन्ने धारणा राखे।

संघका अध्यक्ष कपिल घिमिरेले रजत जयन्तीको अवसरमा सम्पूर्ण सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै भने, ‘हाम्रो संघले २५ वर्षको यात्रामा धेरै उतारचढाव बेहोरेको छ। यो अवधिमा हामीले व्यवसायीहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका छौँ। तर हामी आफैँ एकताबद्ध हुन सकेनौँ। चितवनमा धेरै निर्माण व्यवसायीका संगठन छन्। यसले गर्दा हाम्रो आवाज कमजोर बनेको छ,सरकारले हामीलाई गम्भीरतापूर्वक लिएको छैन।”

रजत जयन्तीको अवसरमा संघले विभिन्न व्यक्तित्व तथा समूहलाई सम्मान गरेको थियो। संस्थापक अध्यक्षसहित संस्थापक कार्यसमिति र संस्थापक सदस्यहरू, यस वर्ष एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरी, संघका ज्येष्ठ नागरिक आमाहरू, दिवंगत सदस्यहरूका धर्मपत्नी तथा संघलाई लामो समयदेखि सहयोग गर्दै आएका व्यक्तिहरूलाई दोसल्ला, सम्मानपत्र र पुरस्कार प्रदान गरिएको थियो।

संघका अध्यक्ष कपिल घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संरक्षक कृष्णबहादुर तामाङ,बाबुराम श्रेष्ठ, भीमबहादुर माझी, चितवन निर्माण सेवा संघका अध्यक्ष कुलबहादुर राई, भरतपुर भवन निर्माण व्यवसायी समितिका अध्यक्ष मदन हजार पासवान, चितवन स्वरोजगार निर्माण व्यवसायी समितिका अध्यक्ष कृष्णबहादुर पौडेल, स्वरोजगार निर्माण संघका इन्तियाज खान पैठान, सल्लाहकार संयोजक प्रल्हाद ठाकुर, निर्वतमान अध्यक्ष यामबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष केदारनाथ अधिकारीलगायतको आतिथ्यता रहेको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI