पर्यटकको खडेरीले रत्ननगरका अटो–ट्याक्सी व्यवसायी संकटमा
रत्ननगर, मंसिर २९ ।
मुख्य पर्यटकीय सिजनको समयमा पनि आन्तरिक तथा वाह्य पर्यटकको आगमन अपेक्षाभन्दा निकै कम भएपछि चितवनको सौराहा क्षेत्रका अटो रिक्सा र ट्याक्सी व्यवसायीहरू संकटमा परेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा चोक र आसपासमा सञ्चालित सयौं अटो तथा ट्याक्सीहरू दिनभरि खाली बस्ने अवस्था सिर्जना भएको छ।
सौराहा चोकमा अटो रिक्सा चलाउँदै आएका व्यवसायी दीपक रोक्काले दुखेसो पोख्दै भने, “अहिले सौराहा घुम्न आउने पर्यटकको संख्या निकै कम छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटकहरू न्यून मात्रामा आएका छन्।” पर्यटक नआउँदा दैनिक आम्दानी घटेको र बैंकको किस्ता, इन्धन तथा मर्मत खर्च थेग्नै मुस्किल भएको उनको भनाइ छ।
यस्तै, विगत ८ वर्षदेखि सौराहा चोकमा ट्याक्सी सञ्चालन गर्दै आएका कृष्ण गिरीले मुख्य सिजनमा पनि अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतभन्दा कम पर्यटक आएको बताए। “पर्यटकको कमीले व्यवसाय नै संकटमा परेको छ, अब अन्य विकल्प खोज्नुपर्ने अवस्था आएको छ,” उनले भने।
अर्का अटो व्यवसायी तुलबहादुर पुनको गुनासो पनि उस्तै छ। उनले जेनजी आन्दोलनपछि पर्यटकको आगमनमा कमी आएको बताए। “पहिले दैनिक ४–५ टिप गर्ने गरेको र कमाई पनि राम्रो हुने भइरहेको थियो तर अहिले दैनिक १०००–१२०० रुपैयाँ कमाउन पनि मुस्किल छ,” उनको भनाइ छ।
यस्तै, एक महिनाअघिदेखि अटो व्यवसायमा लागेकी रश्मी इटनी काप्रीको पीडा पनि अन्य व्यवसायीहरूको जस्तै छ। व्यवसायीहरूका अनुसार, सौराहामा पर्यटकको चहलपहल बढ्दा अटो–ट्याक्सी चालकदेखि होटल, रेस्टुरेन्ट र जंगल सफारी गाइडसम्म हजारौंको रोजगारी चलायमान हुन्छ। पर्यटकको कमीले समग्र पर्यटन क्षेत्र नै प्रभावित बनेको उनीहरूको भनाइ छ।
उनीहरूले सरकारसँग पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउन, सडक पूर्वाधार सुधार गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार बढाउन माग गरेका छन्। पर्यटकको आगमन नबढे सौराहाको पर्यटन व्यवसाय थप संकटमा पर्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस