चितवनको कालिकामा ८० चेपाङ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

लोकप्रिय खबर
१६ पुष २०८२, बुधबार

चितवन, १६ पुस । चितवनको कालिका नगरपालिका वडा नं. ११, वाङ्‌थलास्थित दक्षिणकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ। बुधबार विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत ८० जना चेपाङ बालबालिकालाई सहयोग हस्तान्तरण गरिएको हो।

भरतपुर महानगरपालिका मुनालचोक निवासी समाजसेवी शंकर प्रसाद ढुंगाना र शान्तिदेवी ढुङ्गानाको परिवारले उक्त सहयोग उपलब्ध गराएको हो। समाजसेवी ढुंगाना दम्पतीसहित उहाँका ज्वाईंहरू भोजराज पौडेल र कमल प्रसाद शर्मा तथा छोरीहरू कल्याणी ढुंगाना, कमला बराकोटी र कल्पना ढुंगानाको सामूहिक आर्थिक सहयोगमा विद्यार्थीहरूलाई जाडोका लागि ट्रयाकसुट र पठनपाठनका लागि शैक्षिक सामग्री वितरण गरिएको हो।

राहत वितरण कार्यक्रममा प्रमुख अतिथि रहनुभएका कालिका नगरपालिका–११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजाले सहयोगी दाताहरूलाई धन्यवाद दिनुभयो। उहाँले अति विपन्न चेपाङ समुदायका बालबालिकाहरूका लागि गरिएको यो सहयोगले विद्यार्थी र अभिभावक दुवैलाई ठूलो राहत मिलेको बताउनुभयो। “आर्थिक अभावका कारण समस्यामा रहेका बालबालिकालाई यो कार्यक्रमले प्रत्यक्ष लाभ पुर्‍याएको छ,” वडा अध्यक्ष प्रजाले भन्नुभयो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेले विद्यालयको इतिहासमा हालसम्मकै ठूलो राहत प्राप्त भएको बताउनुभयो। विगतमा सानातिना सहयोग प्राप्त भए पनि सम्पूर्ण विद्यार्थीलाई पुग्ने गरी यसरी न्यानो कपडा र शैक्षिक सामग्री आउनु निकै सुखद पक्ष रहेको उहाँको भनाइ थियो।

प्रधानाध्यापक घिमिरेले भन्नुभयो, “जाडो याममा न्यानो लुगा नहुँदा हाम्रा नानीबाबुहरू काम्दै विद्यालय आउनुपर्ने बाध्यता थियो। अब त्यो समस्याबाट विद्यार्थीहरूले छुटकारा पाएका छन्। यस पुन्य कार्यका लागि सहयोगी सम्पूर्ण परिवारप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ।”

कक्षा शिशुदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरू लाभान्वित भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरज बहादुर प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI