रत्ननगर हत्या प्रकरण: हत्या र डाँका गर्ने पाँचै जना अभियुक्त प्रहरी नियन्त्रणमा
रत्ननगर, माघ १५ ।
रत्ननगर नगरपालिका–४ निवासी ६३ वर्षीया सुकमाया देवी तामाङको बीभत्स हत्या र डाँका गरी फरार रहेको गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले विशेष टोली परिचालन गरी घटनामा संलग्न मुख्य योजनाकारसहित पाँच जना अभियुक्तलाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
गत पुस २६ गते बिहान सुकमाया तामाङ आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । अपराधीहरूले उनलाई हात, खुट्टा र मुखमा कपडाले बाँधेर निर्ममतापूर्वक हत्या गरेको र घरमा रहेका सुनका गरगहना, नगद तथा मोबाइल फोन लुटेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा दराज र अन्य सामानहरू छरपस्ट अवस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बारा स्थायी घर भई रत्ननगर बस्ने ४६ वर्षीय शुक्र बहादुर भोलन (मोटे/विजय), बाराकै ४२ वर्षीय सूर्यमान वाईवा, धादिङका ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जाका ३१ वर्षीय की बहादुर गुरुङ (मिलन) र मकवानपुरका ४७ वर्षीय हिरा बहादुर स्याङतान रहेका छन्। उनीहरूलाई चितवनको चित्रसारी, सौराहाचोक, फिस्लिङ तथा नवलपरासी र काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
अभियुक्तहरूको साथबाट अपराधमा प्रयोग गरिएको ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१-००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल र पर्स लगायतका सामग्रीहरू समेत बरामद गरिएको छ। पक्राउ परेका सबै विरुद्ध ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) र डाँका चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस