ओलीले भने– ‘अपेक्षित नतिजा आएन, तर जनताप्रतिको विश्वास कायम राख्छौं’

लोकप्रिय खबर
२८ फागुन २०८२, बिहिवार

रत्ननगर, फागुन २८ ।
नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठूलो हार व्यहोरेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको फैसला पूर्ण सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्टाटसमा निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको सेवाभाव र प्रतिबद्धता कुनै पनि हालतमा कमजोर नहुने स्पष्ट पारेका छन्।

ओलीले आफ्नो स्टाटसमा भनेका छन् “दिदीबहिनी तथा दाजुभाइहरू, यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।

यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।

निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।”

यो स्टाटसमा ओलीले निर्वाचन हारलाई परिपक्वतापूर्वक स्वीकार गर्दै पार्टीका समर्थक तथा मतदातालाई धन्यवाद दिएका छन्। उनले एमाले जनताको बीचमा नै रहिरहने र सेवाको भावनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI