रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु
रत्ननगर, चैत ५ ।
रत्ननगर नगरपालिकामा विहीबारदेखि लोकसेवा तयारी कक्षा सञ्चालनमा आएको छ । नगरपालिकाको आयोजनामा सुरु भएको ७५ दिने यो तयारी कक्षाको उद्घाटन मेयर प्रलाद सापकोटाले गरेका छन् ।
खैरहनीस्थित लोकसेवा सारथी प्रा.लि. को सहजीकरणमा सञ्चालित यस कक्षामा खरिदार चौथो तथा पाँचौं तहका प्रथम, द्वितीय र तृतीय पत्रको पठनपाठन हुने छ । रत्ननगरका शिक्षित तर बेरोजगार युवाहरूलाई निजामती सेवामा रोजगारीको अवसर सिर्जना गर्न नगरपालिकाले यो कक्षा सञ्चालन गरेको हो ।
तयारी कक्षामा नगरका १६ वटा वडाबाट ५७ जना सहभागी छन् । मेयर सापकोटाले जानकारी दिएअनुसार, नगरपालिकाले अहिलेसम्म नगरभित्रका २५० जना युवाहरूलाई लोकसेवा तयारी कक्षा प्रदान गरेको छ, जसमध्ये १४ जनाले खरिदार पदमा नाम निकालेका छन् ।
लोकसेवामा नाम निकाल्ने युवाहरूलाई जनही २० हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गर्दै आएको बताउँदै मेयर सापकोटाले कम्तीमा १०० जना युवालाई पुरस्कार दिने लक्ष्य राखेको उल्लेख गरे । उनले सरकारी सेवा प्राप्ति भाग्यको कुरा भए पनि मिहिनेत र आत्मबलका साथ जसरी पनि सफल हुने विश्वास दिलाए ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले लोकसेवामा नाम निकाल्न सजिलो नभएको बताउँदै कडा मिहिनेतबाट मात्र सफलता हासिल हुने धारणा राखे ।
लोकसेवा सारथी प्रा.लि. का प्रमुख महेश घिमिरेले युवाहरूलाई सरकारी सेवाको अवसर दिलाउन स्थानीय सरकारसँग सहकार्य गरी तयारी कक्षा सञ्चालन गरिरहेको बताए । उनले चितवनमा अहिलेसम्म ५ हजार ५०० युवालाई तयारी कक्षा प्रदान गरिएको र त्यसमध्ये ३ हजार २०० जनाले विभिन्न पदमा नाम निकाल्न सफल भएको जानकारी दिए ।
प्रशासन शाखा प्रमुख सविता अर्यालले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा वडाध्यक्षहरू बालकृष्ण चापागाईं, पोटबहादुर घिमिरे, रामकुमार चौधरी, कार्यपालिका सदस्य राजेन्द्र हमाल, राम रिमाललगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस