रत्ननगरमा कफी बनाउने तालिम सुरु
रत्ननगर, चैत ५ ।
गरिबी निवारण तथा लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत रत्ननगर नगरपालिकामा एक महिने बारिस्ता सीप विकास तालिम सुरु भएको छ। नगरपालिकाद्वारा आयोजित यो तालिममा ४० जनाको सहभागिता रहेको छ। वडा नं. १० को सभाहलमा आज मेयर प्रल्हाद सापकोटाले तालिमको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सापकोटाले सीप विकासमार्फत रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरण गर्ने नगरपालिकाको योजनाअनुसार स्थानीय सरकारले निरन्तर काम गरिरहेको बताए। उनले विना धितो तथा विना व्याज ऋण उपलब्ध गराउने उद्देश्यले सञ्चालित मेयरसँग उद्यमशीलता विकास कार्यक्रमलाई अवसरको रूपमा उपयोग गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरे।
सपना कफी रिसर्च एण्ड ट्रेनिङ सेन्टरको सहजीकरणमा सञ्चालित तालिममा प्रशिक्षक लोकनाथ शर्मा र सुदिप भट्टराईले ५० भन्दा बढी प्रकारका कफी बेभरेजहरू बनाउने सीप सिकाउने छन्। तालिमको बीचमा कफी मेसिन मर्मतसमेत गर्ने व्यावहारिक ज्ञान प्रदान गरिने प्रशिक्षक भट्टराईले जानकारी दिए।
वडा नं. १० का वडाध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, वडा नं. १० की कार्यवाहक अध्यक्ष गोमा भण्डारी, मेड्पा कार्यक्रम सञ्चालन समितिका सदस्यहरू अनिता अर्याल, शारदा न्यौपाने, सुजना विष्ट, वडा सचिव सुरेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस