सौराहामा २०औं संस्करणको सौराहा फुड फेस्टिबल सुरु

लोकप्रिय खबर
१२ चैत २०८२, बिहिवार

रत्ननगर, चैत १२ ।
चितवनको पर्यटकीय नगरी सौराहामा २०औं संस्करणको सौराहा फुड फेस्टिबल सुरु भएको छ । रेवान सौराहाले आयोजना गरेको उक्त फेस्टिबलको रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरूले सौराहाको पर्यटन विकासमा राज्यले पर्याप्त ध्यान दिन नसकेको गुनासो गरेका छन् । रेवान सौराहाका अध्यक्ष शम्भुप्रसाद मालीले पर्यटन उद्योग राज्यको अभिन्न अंग भए पनि पर्यटन पूर्वाधार निर्माण र पर्यटन विविधीकरणमा राज्यले अपेक्षित ध्यान दिन नसकेको बताए ।

“सौराहा मुलुकको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा चित्रित हुँदै गर्दा पनि तीनै तहका सरकारले सोचेजस्तो लगानी गरेका छैनन्,” उनले भने, “सफारी पर्यटनलाई व्यवस्थित गर्न, पर्यटन पूर्वाधार निर्माण गर्न र सडक पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्छ । पर्यटन उद्योगको विकास र लगानी सुरक्षामा राज्य गम्भीर हुनुपर्छ । अनि मात्र व्यवसायीहरू उत्साहित भएर काम गर्ने वातावरण बन्नेछ ।”

कार्यक्रमका प्रमुख अतिथि उपमेयर यादव प्रसाद पाठकले सौराहाको विकासका लागि व्यवसायीहरूको एकता आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि राज्यले क्षमताअनुसार लगानी गरिरहेको उल्लेख गर्दै सेवा सुधार र मूल्य निर्धारणमा व्यवसायीहरू सचेत हुनुपर्नेमा जोड दिए ।

“प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने मूल भावनालाई आत्मसात गर्दै आयोजना गरिएको फेस्टिबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको संस्थाका उपाध्यक्ष एवं फुड फेस्टिबल संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

यसअघि प्रणय दिवसको अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम देशको निर्वाचन गतिविधिका कारण स्थगित गर्नुपरेको र सुरक्षा, सहभागिता तथा व्यवस्थापनमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको संयोजक खतिवडाले स्पष्ट पारे ।

१९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फुड फेस्टिबलले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।

फेस्टिबलका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै वेटर–वेट्रेस प्रतियोगिता रहेका छन् ।

उद्घाटन कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, रेवानका महासचिव शरदकुमार दाहाल, रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्ट, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरीलगायतले मन्तव्य राखेका थिए ।

फेस्टिबल उद्घाटनअघि सौराहामा भव्य शोभायात्रा निकालिएको थियो ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI