प्रजातान्त्रिक विचार समाज चितवनको अध्यक्षमा प्रा. डा. एकनारायण पौडेल निर्विरोध: कानुनी राज्य र प्रजातन्त्र रक्षामा नेतृत्वको जोड

लोकप्रिय खबर
१४ चैत २०८२, शनिबार

चितवन (भरतपुर) — प्रजातान्त्रिक विचार समाज, चितवन शाखाको २७औं वार्षिक साधारणसभा तथा ११औं शाखा अधिवेशन सम्पन्न भएको छ। भरतपुर–४, वैदिकनगरस्थित स्वाद सदन पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले प्रा. डा. एकनारायण पौडेलको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले वर्तमान राजनीतिक परिस्थिति, स्वेच्छाचारी प्रवृत्तिको उदय र कानुनी राज्यको उपहासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रजातन्त्र रक्षाका लागि फेरि एकपटक वैचारिक र भौतिक संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
११औं शाखा अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति:

अध्यक्ष: प्रा. डा. एकनारायण पौडेल

उपाध्यक्ष: विकास पौडेल

उपाध्यक्ष (महिला): सुरक्षा रेग्मी सापकोटा

सचिव: डा. केशवराज चालिसे

सहसचिव: सुनिता सडौला

कोषाध्यक्ष: प्रकाश शर्मा

सदस्यहरू: दामोदर रिजाल, धर्मराज चालिसे, कुलचन्द्र पण्डित, इन्जिनियर भोजराज कौडेल, श्रीराम सापकोटा, अनिता अर्याल, धनप्रसाद रेग्मी, सुमन सिलवाल र अमृता गौतम।

उद्घाटन सत्र तथा मन्तव्यका मुख्य अंशहरू:

कार्यक्रमको सभापतित्व तत्कालीन शाखा अध्यक्ष सुरेशचन्द्र आचार्यले गर्नुभएको थियो। उहाँले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमको समापन मन्तव्य राख्नुभएको थियो। यसैगरी, उपाध्यक्ष सुरक्षा रेग्मी सापकोटाले स्वागत मन्तव्य, सचिव विकास पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष सुनिता सडौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा केन्द्रीय नेतृत्वले विशेषगरी राष्ट्रिय राजनीति र कानुनी शासनको खस्कँदो अवस्थाबारे गम्भीर टिप्पणी गरेका थिए:

“प्रजातन्त्र र कानुनी राज्यमाथि प्रहार हुन थाल्यो, संघर्षको तयारी गर्नुपर्छ” — कुलचन्द्र वाग्ले (केन्द्रीय अध्यक्ष, प्रमुख अतिथि)
प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय अध्यक्ष वाग्लेले दलहरूभित्रको विकृति, विसंगति र शीर्ष नेताहरूबीचको तल्लो स्तरको गालीगलौजले जनतामा राजनीतिप्रति नै वितृष्णा जगाएको बताउनुभयो। पछिल्लो समय काठमाडौंमा राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले कानुनी प्रक्रिया (अदालती प्रक्रिया) पूरा नगरीकन भइरहेका स्वेच्छाचारी गिरफ्तारीहरूप्रति उहाँले कडा आपत्ति जनाउनुभयो। “यो चुनाव न प्रजातान्त्रिक मूल्य–मान्यताअन्तर्गत भएको हो, न जनताको भावनामा आधारित छ। यसलाई भित्रबाट अन्तैले प्रयोग गरेको छ,” वाग्लेले भन्नुभयो। उहाँले मुलुक भू–राजनीतिक चपेटामा (अमेरिका, चीन र भारतको प्रभाव) परेको उल्लेख गर्दै यो अराजक सत्ताले कानुनी प्रक्रिया नमान्ने संकेत दिइसकेकाले प्रजातन्त्रवादीहरू फेरि जेल जानुपर्ने वा संघर्षमा ओर्लिनुपर्ने दिन आउन सक्ने भन्दै सचेत रहन आह्वान गर्नुभयो।

“नयाँ पुस्तालाई वैचारिक शिक्षा दिन नसक्दा राजनीति खतरनाक खेल बन्यो” — डा. केदारनरसिंह के.सी. (केन्द्रीय निवर्तमान अध्यक्ष, विशिष्ट अतिथि)
विशिष्ट अतिथि डा. के.सी.ले चितवन जस्तो प्रजातन्त्रवादीहरूको गढ मानिने जिल्लामा पनि नयाँ पुस्तालाई लोकतन्त्रको सही शिक्षा र दीक्षा दिन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभयो। “हामी उभिने एक ठाउँमा, सहयोग गर्ने अन्य ठाउँमा भन्ने जुन परिस्थिति सिर्जना भयो, त्यसले लोकतन्त्रलाई अत्यन्त खतरनाक खेल बनायो,” उहाँले भन्नुभयो। वर्तमान सरकारले देशको संविधानलाई आत्मसाथ गरेर विधि र विधानसम्मत रूपमा काम नगरे देशमा ठूलो संकट आउने उहाँको दाबी थियो। मौन जनमत (साइलेन्ट भोटर्स) ले दिएको अनपेक्षित चुनावी परिणामतर्फ इङ्गित गर्दै उहाँले बुद्धिजीवी र पत्रकारिता क्षेत्रले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। साथै, नेपाली कांग्रेस चितवन र विचार समाजबीच रहेको सुमधुर समन्वयको उहाँले उच्च प्रशंसा गर्दै नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न सुझाव दिनुभएको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI