रत्ननगर नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा चितवन जिल्लामा प्रथम
रत्ननगर, चैत १६ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ। उक्त नतिजाअनुसार चितवन जिल्लाका सातवटा पालिकाहरूमध्ये रत्ननगर नगरपालिकाले सबैभन्दा उच्च अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ।
मूल्याङ्कनअनुसार रत्ननगर नगरपालिकाले ७६.२२ अङ्क ल्याएर पहिलो स्थान प्राप्त गरेको हो भने इच्छाकामना गाउँपालिकाले ७४.३२ अङ्कसहित दोस्रो स्थान र भरतपुर महानगरपालिकाले ६८.०२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। चितवनका अन्य पालिकाहरूमा माडी नगरपालिकाले ६७.१०, खैरहनी नगरपालिकाले ६५.०९, कालिका नगरपालिकाले ६४.५० र राप्ती नगरपालिकाले ३६.२० अङ्क प्राप्त गरेका छन्।
आयोगले स्थानीय तहको प्रशासनिक, वित्तीय र सामाजिक कार्यसम्पादन मापन गर्न १७ वटा मुख्य सूचकहरू निर्धारण गरेको थियो। यी सूचकहरूमा बजेट तर्जुमा तथा पारित, राजस्व परिचालन, खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, ‘सूत्र’ प्रणालीको प्रयोग, आवधिक योजना, शिक्षा (भर्ना दर, टिकाउ दर, जीपीए), स्वास्थ्य (गर्भ जाँच, संस्थागत सुत्केरी, खोप) र अनलाइन पोर्टलमा विवरण प्रविष्टि जस्ता विषय समावेश थिए।
रत्ननगर नगरपालिका प्रथम भएपछि नगर प्रमुख प्रलाद सापकोटाले यो उपलब्धिलाई सम्पूर्ण नगरवासीहरूको साथ, सहयोग र कर्मचारीहरूको मेहनत, समर्पण तथा निरन्तरको प्रयासको परिणाम भएको बताएका छन्। “हामीले प्रशासनिक पारदर्शिता, वित्तीय अनुशासन, राजस्व परिचालन, शिक्षा, स्वास्थ्य र योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेका छौं,” उनले भने, “यो नतिजाले हामीलाई थप जिम्मेवार र जवाफदेही बनाएको छ। अब हामी अझ राम्रो सेवा प्रवाह, विकास निर्माण, सुशासन र नागरिकमुखी कामहरूलाई प्राथमिकता दिँदै रत्ननगरलाई नमूना नगर बनाउने छौं।”



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस