रत्ननगरको रहमानिया जामे मस्जिदमा लागुऔषध विरुद्ध सचेतना: ‘लागुपदार्थ सेवन गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्दै सामूहिक प्रतिबद्धता

लोकप्रिय खबर
१ जेठ २०८३, शुक्रवार

रत्ननगर, चितवन —
समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसनलाई रोक्ने उद्देश्यले ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत शुक्रबार चितवनको रत्ननगरमा एक बृहत् सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय रत्ननगर र रहमानिया जामे मस्जिद समिति रत्ननगर, टाँडीको संयुक्त आयोजनामा मिति २०८३ जेष्ठ १ गते शुक्रबार मस्जिदकै प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
प्रहरीको प्रस्तुति र सचेतना
कार्यक्रममा प्रहरी निरीक्षक सोभन बिक्रम राणा र प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज पाँडेले लागुऔषध सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले उपस्थित समुदायलाई निम्न विषयमा सरल भाषामा बुझाउनुभएको थियो:
लागुऔषध दुर्व्यसनी भनेको के हो?
यस अन्तर्गत कस्ता-कस्ता पदार्थहरू पर्दछन्?
लागुऔषध सेवन गर्ने व्यक्तिमा कस्ता लक्षणहरू देखिन्छन्?
यस सम्बन्धी नेपालको कानुनमा कस्तो सजायको व्यवस्था छ?
समाज र परिवार बचाउन यसलाई किन बेलैमा रोक्नुपर्छ?
चितवन जिल्ला देशकै मध्यभागमा पर्ने र विभिन्न स्थानबाट मानिसहरूको आवतजावत हुने भएकाले यहाँ लागुऔषधको जोखिम र प्रयोगकर्ताहरूको तथ्याङ्क चुनौतीपूर्ण देखिँदै आएको छ। यसै सन्दर्भमा समुदायलाई नै सचेत गराउन यो कार्यक्रम आयोजना गरिएको हो।
सामूहिक प्रतिबद्धता र मस्जिद समितिको भनाइ
कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण पक्ष सामूहिक प्रतिबद्धता थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सबैले एकै स्वरमा, “म लागुपदार्थ सेवन गर्दिनँ, सकेसम्म कसैलाई सेवन गर्न दिन्नँ र यसलाई रोक्ने पूर्ण कोसिस गर्नेछु” भन्दै लागुऔषध विरुद्धको अभियानमा हातेमालो गर्ने प्रण गरेका थिए।
रहमानिया जामे मस्जिद समितिका अध्यक्ष अब्दुल वहाबले कार्यक्रम अत्यन्तै प्रभावकारी र समय सान्दर्भिक भएको बताउनुभयो। “यस कार्यक्रमले हामीलाई कानुनी कुराहरू जान्ने र समाजलाई बुझाउने अवसर दिएको छ। लागुऔषध विरुद्धको यो अभियानमा जोडिन हामीलाई अझ थप प्रेरणा मिलेको छ,” उहाँले आफ्नो प्रतिक्रिया दिँदै भन्नुभयो।
प्रहरीको शून्य सहनशीलता नीति
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टको नेतृत्वमा पछिल्लो समय यस क्षेत्रमा लागुऔषध विरुद्ध यस्ता सशक्त र प्रभावकारी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। प्रमुख भट्ट पहिला लागुऔषध समस्या निराकरण गर्न सचेतनामूलक तथा प्रचारात्मक पहिलो प्रार्थमिकता, दोस्रोमा निदानका उपायहरु गरिनुपर्ने र अन्तिममा मात्र दण्ड सजाँय त्यो पनि गर्नैपर्ने भए मात्र अवलम्बन गर्नुपने नीति रहेको बताउनुभयो ।
डीएसपी भट्टको कार्यकालमा सचेतना मात्र नभई चेकजाँचमा पनि निकै कडाइ गरिएको छ। मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) चेकजाँचलाई तिव्रता दिँदै प्रहरीले लागुऔषधको सवालमा ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अपनाएको छ। समाजमा हुने अपराध न्यूनीकरणका लागि समुदायसँग मिलेर सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने इलाका प्रहरी कार्यालयले जनाएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI