चितवनमा ‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड २०२६’ भव्य रूपमा सम्पन्न, १५६ राइडर सहभागी
भरतपुर, ३ जेठ: प्रोस्टेट क्यान्सर तथा पुरुषहरूको मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने विश्वव्यापी अभियान ‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड (DGR) २०२६’ को चितवन संस्करण आज भव्य रूपमा सम्पन्न भएको छ। रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनको आयोजनामा भएको यस र्यालीमा १३५ वटा मोटरसाइकलमा कुल १५६ जना राइडरहरूले सहभागिता जनाएका छन्। सन् २०१२ मा अस्ट्रेलियाबाट सुरु भई हाल ११० भन्दा बढी देशमा मनाइने यो अभियान चितवनमा भने रोयल राइनो राइडर्सले सन् २०१५ देखि आयोजना गर्दै आइरहेको छ।



क्लबका प्रतिनिधि राइनो डा. शशांक कुमार सिंहका अनुसार यसपटकको राइड निकै समावेशी रहेको थियो। र्यालीमा १३२ जना पुरुष, २४ जना महिला र ४ जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा डेढ वर्षका बालकदेखि ६५ वर्षका ज्येष्ठ नागरिकसम्मले औपचारिक पहिरन अर्थात् ‘ड्यापर लुक’ मा सहभागिता जनाएका थिए। सबै राइडरहरूले आफ्नो क्लबको व्यक्तिगत पहिचान झल्काउने पोसाक प्रयोग नगरी सबै एक समान हुन् भन्ने सन्देश दिन यो औपचारिक पहिरन रोजेका हुन्।

यस अभियानले स्वास्थ्य सचेतनाको साथसाथै सडक तथा सवारी सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखेको छ। क्लबका अध्यक्ष राइनो मन्दीपमान श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणको सन्देश दिन मोटरसाइकलको स्वरूप परिवर्तन (Modify) गरेका र ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरूलाई र्यालीमा समावेश नगराइएको जानकारी दिनुभयो। यसका साथै आफ्नो सवारी साधनको नियमित जाँचमार्फत ध्वनि तथा वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने सन्देश पनि र्यालीमार्फत दिइएको थियो।
आज बिहान ८ बजे एयरपोर्ट अगाडि रहेको ट्राइम्फ शोरुमबाट सुरु भएको र्याली बसपार्क, बाइपास रोड र मालपोत चोक हुँदै तीनखोले गुम्बा पुगेको थियो। राइडर कम्युनिटीले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै गुम्बा परिसरमा वृक्षारोपण गर्नुका साथै विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। त्यहाँबाट र्याली आँपटारी हुँदै पुल्चोक निस्किएर बाह्रघरेस्थित एडम्स लाउन्ज एण्ड स्पोर्ट्स बारमा पुगेर औपचारिक रूपमा समापन भएको थियो।
समापन कार्यक्रममा सहभागीहरूको पहिरन, शैली र सवारीसाधनको आधारमा विभिन्न आकर्षक अवार्डहरू समेत वितरण गरिएको थियो। डेढ वर्षका बालक मार्बिन श्रेष्ठले योङ्गेस्ट ड्यापर अवार्ड प्राप्त गर्दा ६५ वर्षीय रुद्रवीर बानियाँले सबैभन्दा पाको राइडरको रूपमा डिन ड्यापर अवार्ड प्राप्त गरेका छन्। यसैगरी, सम्भव प्रधानलाई एस अफ स्टाइल अवार्ड र सेलिना श्रेष्ठलाई ड्यापर डिभा अवार्ड प्रदान गरिएको छ। सन् १९७८ मोडलको यामाहा आरएक्स १०० मोटरसाइकलका साथ सहभागी भएका अशोक भट्टराईले भिन्टेज सोल अवार्ड प्राप्त गरेका छन्।

यस वर्षको कार्यक्रमलाई सफल बनाउन ट्राइम्फ शोरुम चितवन, समिट हेल्थकेयर अस्पताल भरतपुर लगायतका विभिन्न संघ-संस्थाहरूको विशेष सहयोग रहेको क्लबका सचिव राइनो रुक्सन गुरुङले जानकारी दिनुभयो। यस र्यालीले राइडर कम्युनिटीमा सधैं एकताको वातावरण बनाउन र समाजमा सकारात्मक योगदान दिन प्रेरित गरेको आयोजकले जनाएको छ।

सोही कार्यक्रमको अवसर पारेर समिट हेल्थकेयर अस्पताल र रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनबीच एक समझदारी पत्र (MOU) मा हस्ताक्षर समेत भएको छ। अस्पतालका प्रबन्ध निर्देशक डा. गौरव न्यौपानेका अनुसार उक्त सम्झौतासँगै क्लबका सदस्य र उनीहरूका परिवारलाई अस्पतालका सम्पूर्ण सेवा सुविधामा विशेष छुटसहितको प्रिभिलेज कार्ड प्रदान गरिएको छ। साथै, यस्तै प्रकारको सहकार्य गर्न चाहने अन्य संघ-संस्थाहरूलाई समेत समिट हेल्थकेयर अस्पतालमा सम्पर्क गर्न प्रबन्ध निर्देशक डा. न्यौपानेले आह्वान गर्नुभएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस