शान्ति सुरक्षा विना आर्थिक समृद्धि असम्भव: एसपी पौडेल
रत्ननगर, चितवन – रत्ननगर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय चितवनका नवनियुक्त प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई एक कार्यक्रमका बीच भव्य स्वागत गरेको छ । संघको सचिवालयमा आयोजित स्वागत एवं छलफल कार्यक्रममा व्यवसायीहरूले शान्ति सुरक्षा र व्यावसायिक वातावरणबारे आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै नवनियुक्त प्रहरी प्रमुख पौडेलले निजी क्षेत्र र व्यावसायिक संघसंस्थाहरू मुलुकको आर्थिक मेरुदण्ड भएको बताउनुभयो । उहाँले शान्ति सुरक्षा विना आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने चर्चा गर्दै चितवनको अमनचयन कायम गर्न आफू प्रतिबद्ध रहेको र यसका लागि उद्योगी–व्यवसायीहरूको साथ र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्वागत मन्तव्य राख्दै व्यवसायी र प्रहरी प्रशासन एकअर्काका परिपूरक रहेको बताउनुभयो । उहाँले ईलाका प्रहरी कार्यालय, रत्ननगरको भवन निर्माणमा भएको सहकार्यको स्मरण गर्दै ट्राफिक प्रहरीको दरबन्दी व्यवस्थापनमा जोड दिनुभयो । अध्यक्ष गिरीले जिल्लाको व्यावसायिक विकासका लागि सुरक्षा अपरिहार्य रहेको बताउँदै प्रहरीका सकारात्मक कदममा संघको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
छलफलका क्रममा सहभागी व्यवसायी तथा वस्तुगत समितिका अध्यक्षहरूले व्यावसायिक समस्या समाधानमा प्रहरीले संघसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् । व्यवसायीहरूले समस्या पर्दा सिधै व्यवसायीलाई धरपकड गर्ने भन्दा पनि संघसँगको समन्वयमा अघि बढ्दा सहज हुने, कृषिजन्य वस्तुको ढुवानीमा सहजीकरण गरिदिनुपर्ने, ट्राफिक जाँचलाई व्यवस्थित गर्नुपर्ने तथा हर्न र दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने माग राखेका थिए ।
यसैगरी, संघका पूर्व अध्यक्षहरू हरिशरण पाठक, गोपाल कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, ज्ञानबहादुर विसुराल र राजाराम रेग्मीले खुला सीमानाका कारण उत्पन्न हुने चुनौती, लागुऔषधको ओसारपसार, ट्राफिक प्रहरीको अभाव र दुर्घटना न्यूनीकरण लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले प्रहरी प्रशासनको ध्यान सदरमुकाममा मात्र नभई पूर्वी चितवनको सुरक्षामा पनि उत्तिकै केन्द्रित हुनुपर्नेमा जोड दिँदै एसपी पौडेलको कार्यकालको सफलताको कामना गर्नुभयो ।
संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य र विभिन्न वस्तुगत समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो भने कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस