रोट्रयाक्टका नवनिर्वाचित पदाधिकारीहरूका लागि तीन प्रमुख स्थानमा प्रशिक्षण सम्पन्न, आगामी साता पोखरा र बुटवलमा हुँदै
काठमाडौं – रोटरी वर्ष २०२६-२७ का लागि निर्वाचित विभिन्न क्लबका पदाधिकारीहरूलाई लक्षित गरी रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ ले देशका तीन प्रमुख स्थानहरूमा सिकाई सेमिनार (PST-Elect Learning Seminar) भव्यताका साथ सम्पन्न गरेको छ। यस सेमिनारमा नेपालभरका ११७ क्लबका करिब ३५० निर्वाचित पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन फरक-फरक स्थानमा विशेष सत्रहरू सञ्चालन गरिएका थिए। जसअन्तर्गत काठमाडौं क्षेत्रको प्रशिक्षण भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजमा सम्पन्न भएको छ। त्यसैगरी, पूर्वमा सुन्दरहरैंचा-५ स्थित टेन्डरफिट बोर्डिङ स्कुल र मकवानपुरको हेटौंडा-५ स्थित ब्रह्मदिक एकेडेमीमा सेमिनार सञ्चालन गरिएको थियो।
यो प्रशिक्षण नयाँ पदाधिकारीहरूले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गर्नुअघि उनीहरूलाई आवश्यक ज्ञान र सीपले सुसज्जित गराउने उद्देश्यले आयोजना गरिएको हो। सहभागीहरूमा निर्वाचित अध्यक्ष , निर्वाचित सचिव र निर्वाचित कोषाध्यक्ष समावेश थिए। उनीहरूको पदीय भूमिका र जिम्मेवारीलाई मध्यनजर गर्दै, सेमिनारमा प्रत्येक पदका लागि छुट्टाछुट्टै समानान्तर सत्रहरू सञ्चालन गरिएका थिए।

यसैबीच, आयोजकले दिएको जानकारी अनुसार आगामी साता पोखरा र मणिग्राममा पनि यस्तै प्रकृतिको प्रशिक्षण सत्र सञ्चालन हुने कार्यक्रम तय भएको छ। यसले ती क्षेत्र र आसपासका क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि नेतृत्व विकास र प्रभावकारी कार्यसम्पादनका लागि तयार गर्नेछ।
‘बलियो टोली, बलियो जिल्ला’ भन्ने मूल नाराका साथ आयोजना गरिएका यी सेमिनारहरूले ‘निष्ठाका साथ नेतृत्व’, ‘दृष्टिबाट प्रेरणा’ र ‘नेतृत्वका साथ सेवा’ जस्ता रोट्रयाक्टका मुख्य मूल्यमान्यताहरूलाई प्रवर्द्धन गरेका छन्। यस देशव्यापी प्रशिक्षण अभियानले रोट्रयाक्टका सदस्यहरूबीच ‘सेवा मार्फत मित्रता’ को आदर्शलाई अझ मजबुत बनाउँदै आगामी रोटरी वर्षलाई थप सफल र समुदाय-केन्द्रित बनाउने अपेक्षा गरिएको छ।




लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस