बागमती प्रदेशमा टीभीईटी क्षेत्रको रूपान्तरणका लागि ‘नवीन अभ्यास’ को खोजी
चितवन, असार ८
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) क्षेत्रलाई आधुनिक, रोजगारमुखी र प्रतिस्पर्धी बनाउने उद्देश्यले बागमती प्रदेशमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सीटीइभिटी बागमती प्रदेश कार्यालयको आयोजनामा चितवनस्थित नारायणी बहुप्राविधिक शिक्षालयमा उक्त कार्यक्रम भएको हो।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीले विश्वव्यापी परिवर्तनसँगै प्राविधिक शिक्षालाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नवप्रवर्तन र प्रविधिको प्रयोगबाट मात्र दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो। मन्त्रालयले टीभीईटी क्षेत्रको सुदृढीकरणका लागि निरन्तर सहकार्य गर्ने उहाँको भनाइ थियो।
यसैगरी, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले सीप हस्तान्तरणलाई उद्यमशीलता र आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रशिक्षण प्रणालीलाई व्यावहारिक बनाउन उद्योग र व्यवसाय क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्सालले टीभीईटी प्रणालीमा आमूल सुधारका लागि नेतृत्व तहको कार्यशैली परिवर्तन हुनुपर्ने बताउनुभयो। उहाँले प्राचार्यहरूलाई आफ्नो ‘मति, गति र गन्तव्य’ बदल्न आह्वान गर्दै कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिलाई आत्मसात् गर्न नसके शैक्षिक संस्थाहरू पछि पर्ने चेतावनी दिनुभयो।
कार्यक्रममा टिआईटिआईका कार्यक्रम निर्देशक अनिल मुनि बज्राचार्यले अन्तर्राष्ट्रिय स्तरका सफल अभ्यासहरू प्रस्तुत गर्दै उद्योग र शिक्षालयबीचको सम्बन्ध सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विभिन्न प्राविधिक शिक्षालयका प्राचार्यहरूले पनि आफ्ना संस्थामा भएका सफल अभ्यास र अनुभवहरू बाँडेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै परिषद् बागमती प्रदेशका उपनिर्देशक सुमन पौडेलले ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रका लागि टीभीईटी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रमका अध्यक्ष तथा सीटीइभिटी बागमती प्रदेशका निर्देशक हर्कलाल श्रेष्ठले विद्यार्थीको रोजगार सुनिश्चितता र शिक्षालयको क्षमता अभिवृद्धिका लागि नवीन सोचलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
प्रदेश सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको समन्वयबाट मात्र गुणस्तरीय प्राविधिक शिक्षा सुनिश्चित गर्न सकिने निष्कर्षका साथ कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमबाट प्राप्त सुझावहरूले प्रदेशको प्राविधिक शिक्षा नीति निर्माण र दीर्घकालीन विकासमा महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस