दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता, ऋण असुली प्रक्रियामा पनि तीव्रता
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संकटमा परेका सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने क्रमलाई अघि बढाएको छ। पछिल्लो समय समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ र पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका कुल ३४१ जना बचतकर्ताको बचत रकम सफलतापूर्वक फिर्ता गरेको छ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार कान्तिपुर सेभिङका ३३४ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले आफ्नो गुमेको रकम फिर्ता पाएका हुन्। सहकारीमा आएको संकटपछि लामो समयदेखि आफूले जम्मा गरेको रकम पाउन नसकेर पीडित बनेका नागरिकहरूलाई समितिले पहिलो चरणमा कम रकम रहेका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर भुक्तानी दिएको हो।
सरकारले समस्याग्रस्त सहकारीका ऋणीहरूबाट असुल गरिएको रकमबाट नै पीडित बचतकर्ताहरूलाई राहत स्वरूप यो रकम वितरण गरिएको स्पष्ट पारेको छ। ऋण असुली र सम्पत्ति व्यवस्थापनको कार्यलाई चुस्त बनाउँदै लैजाने क्रममा समितिले साउन १ गतेदेखि १५ गतेसम्मको १५ दिनको अवधिमा मात्रै विभिन्न सहकारीका ६५ जना ऋणीहरूबाट रकम असुल गर्न सफल भएको छ।
कानुनी दायरामा ल्याएर ऋणीहरूबाट रकम उठाउने काम तीव्र पारिएसँगै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियाले पनि गति लिन थालेको छ। समितिले रकम फिर्ता गर्दा स्पष्ट मापदण्ड बनाएर वर्गीकरण गरेको छ। जस अनुसार पहिलो चरणमा साना बचतकर्ताको दायित्व फछ्र्यौट गरिसकेपछि क्रमशः बाँकी बचतकर्ताहरूलाई पनि उनीहरूको बचत रकमको आधारमा वर्गीकरण गरी रकम फिर्ता गर्दै जाने योजना बनाइएको छ।
सम्बन्धित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र ऋण असुलीबाट संकलन हुने रकम प्रचलित कानुनी व्यवस्था बमोजिम पारदर्शी रूपमा बचतकर्ताहरूलाई नै हस्तान्तरण गर्ने कार्य निरन्तर जारी रहने व्यवस्थापन समितिले जनाएको छ। समितिले गरेको यो पछिल्लो प्रयासले लामो समयदेखि अन्योलमा परेका सहकारी पीडितहरूमाझ आशाको किरण जगाएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस