रसुवा बाढीपीडितका लागि हिमचुली स्विट हाउसद्वारा १ लाख १ हजार बढी सहयोग
रत्ननगर, चितवन
प्राकृतिक विपत्तिको यो कठिन घडीमा पीडित परिवारलाई राहत र पुनर्स्थापनाका लागि चितवनका व्यवसायीहरूले ऐक्यबद्धता जनाउन थालेका छन्। यसै क्रममा रत्ननगर–१, सौराहा चोकमा सञ्चालित ‘हिमचुली स्विट हाउस’ले रसुवाका बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १,०१,१११ (एक लाख १ हजार एक सय ११) हस्तान्तरण गरेको छ।

विपत्तिको समयमा सानो-ठूलो जस्तोसुकै सहयोगले पनि पीडितको घाउमा मलम लगाउन र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न ठूलो भूमिका खेल्ने सोचका साथ उक्त रकम हस्तान्तरण गरिएको व्यवसायी तथा हिमचुली स्विट हाउसका सञ्चालक यादव प्रसाद सुवेदीले बताउनुभयो।

“देशलाई विपत् पर्दा रकमको आकारभन्दा पनि नागरिक र राज्यका सबै निकायको साझा प्रयास महत्त्वपूर्ण हुन्छ,” सञ्चालक सुवेदीले भन्नुभयो, “हामी सबै एकजुट भएर लाग्दा मात्र विपद्सँग जुध्ने सामूहिक शक्ति मिल्छ। मेरो यो सानो प्रयासले अन्य व्यवसायी तथा सर्वसाधारणलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न र सहयोगमा जुट्न प्रेरणा मिलोस् भन्ने मेरो कामना छ।”
सौराहा चोकमा आफ्नो व्यावसायिक पहिचान बनाएको हिमचुली स्विट हाउसको यो सहयोगी कदमले संकटको बेला निजी क्षेत्र केवल नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्वप्रति उत्तिकै सजग र संवेदनशील हुन्छ भन्ने स्पष्ट सन्देश दिएको छ। उहाँको यस योगदानको स्थानीय तह तथा उद्योगी-व्यवसायी वृत्तमा उच्च प्रशंसा भइरहेको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस