Village of English Writers (VIEW), Chitwan को पाँचौँ राष्ट्रिय सम्मेलन २०२६

VIEW Chitwan को पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न

‘Literature Beyond the Page: Connecting Creativity, Pedagogy, and Research’ विषयमा दुईदिने राष्ट्रिय सम्मेलन

लोकप्रिय खबर
७ मंसिर २०८३, आइतबार
गैंडाकोट, ६ मंसिर २०८३
Village of English Writers (VIEW), Chitwan को पाँचौँ राष्ट्रिय सम्मेलन २०२६ नोभेम्बर २१ र २२ (मंसिर ५ र ६) गते नवलपुरको गैंडाकोटस्थित होटल रिभर क्राउनमा सफलतापूर्वक सम्पन्न भएको छ। Literature Beyond the Page: Connecting Creativity, Pedagogy, and Research भन्ने मूल विषयवस्तुमा केन्द्रित सम्मेलनले साहित्यलाई पुस्तकका पानाभित्र मात्र सीमित नराखी सिर्जनात्मकता, शिक्षणशास्त्र र अनुसन्धानसँग जोड्दै यसको व्यापक सामाजिक तथा शैक्षिक महत्त्वमाथि विमर्श गरेको थियो।
VIEW Chitwan का अध्यक्ष डा. केशवराज चालिसेको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले गर्नुभएको थियो। “कार्यक्रमको सञ्चालन VIEW Chitwan का सचिव चेतराज रेग्मीले गर्नुभएको थियो।”कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदी, गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. हेमराज काफ्ले, दिल्ली विश्वविद्यालयका प्रा. डा. उज्ज्वल जाना (Prof. Dr. Ujjwal Jana), सम्मानित व्यक्तित्व प्रा. डा. अमरराज जोशी, संस्थाका संरक्षक एलबी क्षेत्री, तथा संस्थापक अध्यक्ष ईश्वर कँडेल, प्रा. डा. भानु कँडेल, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. टीकाराम पौडेल, डा. काशीराज पाण्डे र डा. भरत न्यौपानेका साथै हिरालाल कापर र सुरेन्द्र भट्टलगायत विभिन्न शैक्षिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी त्रिभुवन विश्वविद्यालयका प्रा. डा. भानु कँडेल, सहप्राध्यापक डा. सबिन्द्रराज भण्डारी, डा. कोमल फुँयाल, लगायतका प्राज्ञिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। साथै विभिन्न विश्वविद्यालय, क्याम्पस तथा विद्यालयका प्रमुख, उपप्रमुख, प्राचार्य, सहायक प्राचार्य, प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा दिल्ली विश्वविद्यालयका प्राध्यापक डा. उज्ज्वल जाना र काठमाडौं विश्वविद्यालयका डीन प्रा. डा. हेमराज काफ्लेले कीनोट वक्ताका रूपमा आ-आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो। विशेषगरी प्रमुख वक्ताहरूले आफ्नो कीनोट मन्तव्यमा साहित्यलाई पाठ्यपुस्तक र लिखित सामग्रीको सीमाभन्दा बाहिर लगेर जीवन, समाज, संस्कृति, सिर्जनात्मकता, शिक्षण र अनुसन्धानसँग जोड्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँले समकालीन शैक्षिक परिवेशमा साहित्यको भूमिका र Literature Beyond the Page को सान्दर्भिकताबारे चर्चा गर्नुभएको थियो।
सम्मेलनको विशेष आकर्षणका रूपमा यस वर्षको युवराज कँडेल स्मृति पुरस्कार प्रा. डा. अमरराज जोशीलाई प्रदान गरिएको थियो। नेपाली भाषा, साहित्य र संस्कृतिलाई अंग्रेजी भाषामार्फत अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पुर्‍याउनुभएको योगदान, अंग्रेजी भाषामा लेखिएका साहित्यिक कृति तथा अनुवादका क्षेत्रमा उहाँले गर्नुभएको उल्लेखनीय कार्यको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। सम्मानित व्यक्तित्वको योगदानबारे त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कोमल फुँयालले प्रकाश पार्नुभएको थियो। त्यसैगरी VIEW का संस्थापक अध्यक्ष ईश्वर कँडेलले युवराज कँडेल स्मृति पुरस्कारको स्थापना, यसको उद्देश्य र महत्त्वबारे आफ्नो मन्तव्य राख्नुभएको थियो। पुरस्कार ग्रहणपछि प्रा. डा. जोशीले आफ्नो अवार्ड स्वीकृति मन्तव्य (Award Acceptance Speech) प्रस्तुत गर्दै सम्मानप्रति आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा VIEW Chitwan का संरक्षक एलबी क्षेत्रीले संस्थाको स्थापनाको सन्दर्भ स्मरण गर्दै VIEW ले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको र स्थापनाकालदेखि नै साहित्य तथा समाजलाई जोड्ने उद्देश्यले विभिन्न सिर्जनात्मक, साहित्यिक र प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले साहित्यलाई सामाजिक रूपान्तरण र बौद्धिक चेतनाको माध्यमका रूपमा विकास गर्न संस्थाले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, संस्थाका अध्यक्ष डा. केशवराज चालिसेले VIEW Chitwan ले नियमित रूपमा राष्ट्रिय तथा प्राज्ञिक स्तरका कार्यक्रमहरू आयोजना गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा संस्थाका गतिविधिलाई थप विस्तार गर्दै विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य र साझेदारी गरी साहित्य, शिक्षण तथा अनुसन्धानका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने संस्थाको योजना रहेको जानकारी दिनुभयो।”
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा कीनोट स्पिच, प्लेनरी सेसन र दुईवटा समानान्तर (Concurrent) सेसन सञ्चालन भएका थिए। प्लेनरी सेसनमा डा.टीकाराम पौडेल, काशीराज पाण्डे र भरतप्रसाद न्यौपानेले आ-आफ्ना अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। समानान्तर सत्रहरूमा साहित्य, भाषा, भाषा शिक्षण, शिक्षाशास्त्र, सिर्जनात्मक लेखन तथा अनुसन्धानका विविध पक्षसँग सम्बन्धित ४० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए। सम्मेलनमा काठमाडौं विश्वविद्यालयका एमफिल दोस्रो सेमेस्टरका विद्यार्थीहरूले समेत आफ्ना अनुसन्धानपत्र प्रस्तुत गरेका थिए। यसले सम्मेलनलाई अनुभवी प्राज्ञिक व्यक्तित्व र नयाँ पुस्ताका अनुसन्धानकर्ताबीच विचार, अनुभव र अनुसन्धान आदानप्रदान गर्ने महत्त्वपूर्ण साझा मञ्चका रूपमा स्थापित गरेको थियो।
सम्मेलनको अर्को आकर्षणका रूपमा आयोजित कविता वाचन तथा साहित्यिक सिर्जना प्रस्तुतिको कार्यक्रम रहेको थियो। “उक्त साहित्यिक कार्यक्रमको सञ्चालन VIEW Chitwan का उपाध्यक्ष विश्वराज सुवेदीले गर्नुभएको थियो/ ”उक्त कार्यक्रममा १५ जनाभन्दा बढी साहित्यकार, प्राध्यापक तथा स्रष्टाहरूले आफ्ना मौलिक सिर्जना वाचन गर्नुभएको थियो। यस कार्यक्रमले सम्मेलनको मूल विषयवस्तुलाई सिर्जनात्मक अभ्याससँग जोड्दै साहित्यिक अभिव्यक्ति र अन्तरक्रियाका लागि विशेष अवसर प्रदान गरेको थियो।
समापन सत्रको सञ्चालन संस्थाका कोषाध्यक्ष नगेन्द्र तिमिल्सिनाले गर्नुभएको थियो। समापन सत्रमा संस्थाका अध्यक्ष डा. केशवराज चालिसेले सम्मेलन सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, कार्यपत्र प्रस्तुतकर्ता, सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै औपचारिक रूपमा सम्मेलनको समापन गर्नुभएको थियो।सम्मेलनको समापन सत्रमा अध्यक्ष डा. केशवराज चालिसेले सहभागी, अतिथि, कार्यपत्र प्रस्तुतकर्ता, आयोजक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो। दुई दिनसम्म चलेको सम्मेलनले साहित्य, शिक्षण र अनुसन्धानबीचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउनुका साथै प्राज्ञिक बहस, अनुसन्धानात्मक चिन्तन, सिर्जनात्मक अभिव्यक्ति र शैक्षिक सहकार्यका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका थिए।
यसरी VIEW Chitwan को पाँचौँ राष्ट्रिय सम्मेलनले साहित्यलाई केवल पढ्ने र व्याख्या गर्ने विषयका रूपमा मात्र नभई जीवन, समाज, सिर्जना, शिक्षण र अनुसन्धानलाई जोड्ने सशक्त माध्यमका रूपमा स्थापित गर्ने सन्देशसहित सफलतापूर्वक सम्पन्न भएको छ। दुईदिने सम्मेलनको अन्त्यमा सहभागीहरूबीच अनुभव, विचार र आत्मीयता साटासाट गर्दै आगामी दिनमा पनि यस्ता प्राज्ञिक तथा साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धतासहित बिदाइ भएको थियो।

चौथो राष्ट्रिय सम्मेलन उद्घाटन सत्रको भिडियो :


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI