रत्ननगर-१५ मा बिहीबारदेखि ६० दिने लोकसेवा तयारी कक्षा सुरु हुँदै
- यहाँ लेखको संक्षिप्त सारांश दिइएको छ:
- रत्ननगर नगरपालिका वडा नं. १५ मा बिहीबारदेखि ३० जना युवाका लागि ६० दिने लोकसेवा तयारी कक्षा सुरु हुँदैछ।
- वडा कार्यालयद्वारा आयोजित यस कक्षाका सहभागीहरूलाई आवश्यक पाठ्यपुस्तकहरू निःशुल्क उपलब्ध गराइनेछ।
- युवाहरूलाई सरकारी सेवामा प्रवेश गराई स्वदेशमै अवसर प्रदान गर्ने उद्देश्यले वडाले विगत चार वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं. १५ मा भोलि (बिहीबार) देखि लोकसेवा आयोगको तयारी कक्षा सुरु हुने भएको छ। वडा कार्यालयको आयोजनामा ६० दिनसम्म सञ्चालन हुने उक्त कक्षामा ३० जना परीक्षार्थी सहभागी हुँदैछन्।
गरिबी न्यूनीकरण गर्दै वडाभित्रका युवाहरूलाई सरकारी सेवामा अवसर प्रदान गर्ने उद्देश्यले वडा कार्यालयले विगत चार वर्षदेखि निरन्तर लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको छ। लोकसेवा सारथी प्रा.लि.को सहजीकरणमा सञ्चालन हुने यस कक्षाका सहभागीहरूलाई परीक्षाका लागि आवश्यक पाठ्यपुस्तक (किताब) समेत निःशुल्क उपलब्ध गराइनेछ।
वडाध्यक्ष आशिक तामाङले युवाहरूलाई निजामती सेवा प्रवेशमा सहजता मिलोस् भन्नका लागि हरेक वर्ष तयारी कक्षा सञ्चालन गरिएको बताए। विगतका अनुभव सुनाउँदै वडाध्यक्ष तामाङले भने, ‘विगतमा हामीले युवालाई सीप सिकाउने नाममा ठूलो बजेट खर्च गर्दै आयौं, तर ती युवाहरूलाई स्वदेशमै रोक्न सकिएन। अब सरकारी सेवामार्फत नै युवाहरूलाई स्वदेशमै अड्याउनुपर्ने अवस्था आएको छ।’
युवाहरूलाई सरकारी सेवामा प्रवेश गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको वडाध्यक्ष तामाङको भनाइ छ। यस अभियानअन्तर्गत हालसम्म वडा कार्यालयले १२० जना युवालाई लोकसेवा तयारी कक्षामा सहभागी गराइसकेको जनाएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस