जयमङ्गला बहुमुखी क्याम्पसको अध्यक्षमा रघुनाथ भट्ट
रत्ननगर, मंसिर २७।
चितवनको रत्ननगर नगरपालिका–१३, जयमङ्गलास्थित जयमङ्गला बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा रघुनाथ भट्ट सर्वसम्मत चयन भएका छन्।
क्याम्पसको सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरूको मङ्सिर २७ गते बसेको पहिलो बैठकले भट्टलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।
नवनिर्वाचित ११ सदस्यीय सञ्चालक समिति सदस्यहरू मध्ये जेष्ठ सदस्य चन्द्र प्रसाद शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले रत्ननगर–१२ निवासी भट्टलाई आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको क्याम्पसले जनाएको छ।
यसअघि मङ्सिर २० गते क्याम्पसको सातौँ क्याम्पस सभा तथा तेश्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो। क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मोहन प्रसाद भट्टराईको अध्यक्षता तथा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको थियो।
अधिवेशनमा क्याम्पस प्रमुख अर्जुन प्रसाद पौडेलले प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को अनुमानित आय-व्यय विवरण तथा विधान संशोधन सम्बन्धी प्रस्तावहरू पेश गरेका थिए, जसलाई सभाले अनुमोदन गरेको थियो।
उक्त कार्यक्रममा विशिष्ट अतिथि सामाजिक विकास समिति संयोजक सोहेन्द्र राज खरेल, वडा अध्यक्षहरू पोट बहादुर घिमिरे, सुन्दरमणी सुवेदी, संस्थापक अध्यक्ष विश्वनाथ खनाल, निवर्तमान अध्यक्ष ऋषिराम आचार्य लगायत विभिन्न शिक्षाप्रेमी, समाजसेवी र क्याम्पस सभा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
समुदायमा आधारित यस क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र नयाँ नेतृत्वसँगै क्याम्पसको शैक्षिक तथा भौतिक विकासले थप गति लिने अपेक्षा गरिएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस