रत्ननगरमा सातौं राष्ट्रपति रनिङ शिल्ड शुरु
रत्ननगर, माघ १५ ।
रत्ननगरमा विहीबारदेखि सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रत्ननगर नगरपालिका–८ स्थित खेलमैदानमा आयोजित उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रलाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
सो अवसरमा बोल्दै मेयर सापकोटाले विद्यार्थीहरूमा अन्तर्निहित क्षमता उजागर गर्न राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए। कुनै समय पूर्वी चितवन लागुऔषध दुव्र्यसनीको केन्द्र बनेको उल्लेख गर्दै उनले खेलकुदको माध्यमबाट युवाहरूलाई कुलतमा फस्नबाट जोगाउन सकिएको धारणा राखे।
खेलकुद राष्ट्रका लागि मात्र नभई मानव शरीरको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको भन्दै उनले स्थानीय सरकारले खेलकुद विकासलाई प्राथमिकता दिँदै काम गरिरहेको जानकारी दिए। शिक्षा, स्वास्थ्य र खेलकुदलाई सँगसँगै अगाडि बढाउँदा कृषि तथा पर्यटन क्षेत्रलाई पनि समान महत्व दिन सकिने उनको भनाइ थियो।
नगर खेलकुद विकास समितिका अध्यक्ष तथा वडा नं. ८ का वडाध्यक्ष कृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले राष्ट्रपति रनिङ शिल्डलाई शिक्षा र स्वास्थ्यसँग जोडिएको नगरकै महत्वपूर्ण कार्यक्रम भएको बताए। यसले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने र अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा उनीहरूको सर्वांगीण विकासमा सहयोग पुग्ने उनको विचार थियो।
नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेका अनुसार तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ३१ विद्यालयहरू सहभागी छन्। कुल ३५० भन्दा बढी विद्यार्थीहरूले ६ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रममा वडाध्यक्षहरू कुल प्रसाद सापकोटा, राजेन्द्र घिमिरे, सोहेन्द्रराज खरेल, रामकुमार चौधरी, बालकृष्ण चापागाईं, किरण महतो, सजना महतो, कलाधर पौडेल, श्यामकुमार श्रेष्ठ, पोटबहादुर घिमिरे, होमनाथ रानाभाट, हेमराज थापालगायत कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस