१८ औँ दिपेन्द्र क्षेत्री स्मृति जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, ३१ विद्यालय सहभागी

लोकप्रिय खबर
८ फागुन २०८२, शुक्रवार

रत्ननगर । रत्ननगर १३ अवस्थित स्काइ राइडर आवासीय माध्यमिक विद्यालयमा १८ औँ दिपेन्द्र क्षेत्री स्मृति जिल्ला स्तरीय रनिङ ट्रफी हाजिरी जवाफ प्रतियोगिता-२०८२ भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाभरिका ३१ वटा संस्थागत (निजी) तथा सामुदायिक (सरकारी) विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगिता एक विशेष समारोहका बीच सम्पन्न भएको हो।

विद्यालयका प्राचार्य मदन पुरीको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, कार्यक्रममा विद्यालयका निर्देशक दुर्गाकुमार पुरी विशिष्ट अतिथि र जनप्रिय पब्लिक स्कुलका प्राचार्य भानुभक्त अर्याल अतिथिको रूपमा रहनुभएको थियो।

कार्यक्रमको सुरुवातमा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रमेश पुरीले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि, शिक्षक तथा विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो।

निकै प्रतिस्पर्धात्मक रहेको उक्त हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता विद्यार्थी तथा विद्यालयहरूलाई कार्यक्रमका अतिथिहरूद्वारा रनिङ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण पश्चात् विजेता विद्यालयको तर्फबाट विद्यार्थी समृद्धि सुवेदीले आफ्नो अनुभव तथा खुशी व्यक्त गर्दै मन्तव्य राखेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि भानुभक्त अर्याल र प्रमुख अतिथि नारायण प्रसाद वाग्लेले विद्यार्थीहरूको बौद्धिक विकास र समसामयिक ज्ञान वृद्धिका लागि यस्ता अतिरिक्त क्रियाकलाप र प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभएको थियो। उहाँहरूले सहभागी सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना समेत गर्नुभयो।

अन्तमा, कार्यक्रमका सभाध्यक्ष एवं प्राचार्य मदन पुरीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागी विद्यालय, शिक्षक, विद्यार्थी र अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI