फागुन २१ निर्वाचन : रत्ननगरमा मतदाता शिक्षा अभियान तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरिका ६,७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसै कार्यक्रमअन्तर्गत चितवनको रत्ननगर नगरपालिका १६ वटै वडामा पनि मतदाता शिक्षा अभियान तीव्र रूपमा अघि बढाइएको छ। मतपत्र बदर हुन नदिने र मतदातालाई सही तरिकाले मतदान गर्न सचेत गराउने मुख्य उद्देश्यले प्रत्येक वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएका छन्।
निर्वाचन आयोगले २०८२ फागुन ३ गतेदेखि देशव्यापी रूपमा यो विशेष मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो। उक्त अभियान फागुन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ। यो कार्यक्रम निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम अघि बढाइएको हो।
कार्यक्रममा स्वयंसेवकहरू घरदैलो तथा बस्तीमा पुगेर नमूना मतपत्र प्रयोग गरी मतदान गर्ने सही विधि, मताधिकारको महत्व र मतपत्र बदर हुनबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइरहेका छन्। विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा पहिलो पटक मतदान गर्न लागेका युवा मतदातालाई लक्षित गरी सचेतनामूलक गतिविधि बढाइएको छ।
मतदाता शिक्षा कार्यक्रमले मतपत्र बदर हुने दर घटाउने तथा स्वच्छ, निष्पक्ष र सफल निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। रत्ननगर नगरपालिकाकी सूचना अधिकारी तथा मतदाता शिक्षा कार्यक्रम अनुगमनकर्ता सविता अर्यालले निर्वाचन पूर्वसम्म यो अभियान प्रभावकारी रूपमा सञ्चालन हुने बताउनुभयो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस