रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ : प्रश्नभन्दा सुझाव बढी
रत्ननगर । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ बिहीबार सम्पन्न गरेको छ । नगरपालिकाले गरेको विकास निर्माणका वित्तीय तथा भौतिक प्रगति सार्वजनिक गर्ने र नगरबासीका सुझाव तथा अपेक्षा संकलन गरी सोहीअनुसार गतिविधि अघि बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
वडा नं. १६ को वडा कार्यालय प्रांगणमा भएको कार्यक्रममा नगरपालिकाले जेनजी आन्दोलनका कारण ध्वस्त भएको संरचनालाई चालु आर्थिक वर्षमा पुरानै अवस्थामा फर्काउने गरी पुनर्निर्माणको कामलाई तीव्र पारेको जानकारी दिएको छ । विशेष नगर सभाबाट पुनर्निर्माण कोषबाट सुरु गरिएको काम ८० प्रतिशत सकिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताए । नियमित विकास निर्माण तथा प्रशासनिक कामलाई निरन्तरता दिँदै ध्वस्त संरचनाको पुनर्निर्माण तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।
नगरबासीहरूले फोहोर तथा पार्किङ व्यवस्थापन, जग्गा वर्गीकरण, कृष्णसार स्थानान्तरण, कर छुट, दोहोरो कर प्रणाली, उत्पादनमा अनुदान, नमुना पार्क सञ्चालन, सौराहाको पर्यटन विकास, बजार मूल्य नियन्त्रण, सडक मर्मत तथा विस्तार, कृषि तथा पशु विशेषज्ञ सेवा, मेलमिलापको काम, बसपार्क सञ्चालन, उद्यमशीलता विकास, रासायनिक मल वितरणलगायत विषयमा प्रश्न तथा सुझाव पेस गरेका थिए ।
कार्यक्रममा पर्यटन व्यवसायी राजेन्द्र धामी, सामाजिक अगुवा तुलसी गिरी, सीतादेवी शर्मा, चन्द्रमणि पौडेल, उद्यमशील महिला सञ्जाल रत्ननगरकी अध्यक्ष गीता सिँखडा, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्ण बगाले, भद्रकाली टोल विकास संस्थाकी अध्यक्ष रश्मी इतनी काप्री, संरक्षणकर्मी आत्मराम तिवारी, दोबाटो टोल विकास संस्थाकी सचिव भोला ढकाल, रामकृष्ण पौडेल, सुमित्रा लामिछाने, हरिप्रसाद अधिकारी, उद्यमी महिला प्रेमकुमारी मगरलगायतले नगरपालिकालाई प्रश्न गर्दै सेवा सुधारका लागि सुझाव दिएका थिए ।
उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खनाल, वडा नं. १६ का वडाध्यक्ष हेमराज थापा र कृषि विकास अधिकृत प्रवीण लामाले नगरबासीका प्रश्नको जवाफ दिएका थिए । उपमेयर पाठकले सीमित स्रोतसाधनका बीच नगरबासीका असीमित अपेक्षा पूरा गर्न ढिलाइ भएको भन्दै नगरपालिकाले गरेका राम्रा कामलाई मनन गर्न आग्रह गरे । जेनजी आन्दोलनले थला पारेको नगरपालिकालाई पुरानै अवस्थामा फर्काउन पुनर्निर्माणको काम अघि बढाइएको उनले बताए ।
नगरप्रमुखले उद्यमशीलताको प्रभावकारिताबारे सोधिएको प्रश्नको जवाफ दिँदै उपमेयर पाठकले हालसम्म २३४ जनालाई ऋण प्रवाह गरिएको तर केहीले समयमै रकम नतिरेका कारण थप काम प्रभावित भएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत खनालले फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै नयाँ प्रक्रियाबाट अघि बढ्ने तयारी भएको बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा राजस्व संकलन, वित्तीय तथा भौतिक प्रगतिमा अपेक्षाकृत राम्रो उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।
कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा, राजेन्द्र घिमिरे, सोहेन्द्रराज खरेल, रामकुमार चौधरी, बालकृष्ण चापागाईं, किरण महतो, सजना महतो, कृष्ण चौधरी, अनन्त अधिकारी, कलाधर पौडेल, श्यामकुमार श्रेष्ठ, सुन्दरमणि सुवेदी, आशिक तामाङ, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । चितवन मिडिया नेटवर्क प्रा. लि. ले सहजीकरण गरेको उक्त कार्यक्रम सञ्चारकर्मी रामकान्त पौडेलले सञ्चालन गरेका थिए ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस