रत्ननगरमा तेल ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु
रत्ननगर, चैत ९ ।
चितवनको रत्ननगर नगरपालिका–१, निपनी चोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ । दिउँसो करिब ३:२५ बजे खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको तेल ट्याङ्करले भित्री सडकबाट निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–७ निवासी अन्दाजी ३०–३५ वर्षीया मीना रेग्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटर चालक ५३ वर्षीय पूर्ण सापकोटा भने सकुशल छन् ।
ट्याङ्करले स्कुटरलाई ठक्कर दिएपछि सडक किनारामा रोकेर राखिएका अन्य सवारी साधनहरू— ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरका दुई मोटरसाइकल तथा एक साइकललाई पनि क्षति पुर्याएको छ ।
दुर्घटनापछि प्रहरीले ट्याङ्कर चालक राप्ती नगरपालिका–७ निवासी २४ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिएको छ । मृतकको शव घटनास्थलमै राखिएको छ भने ट्याङ्कर पनि सोही स्थानमा छ ।
घटनापछि सडकको यातायातलाई डाइभर्ट गरी सञ्चालन गरिएको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सुवास भट्टको कमान्डमा २० जना र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक भोला तिवारीको कमान्डमा १७ जनाको टोली खटिएको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस