रत्ननगरमा विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श

लोकप्रिय खबर
१२ चैत २०८२, बिहिवार

रत्ननगर, चैत १२ ।

रत्ननगर नगरपालिका वडा नम्बर २ मा रहेको नेपाल नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श दिइएको छ । कक्षा ८ देखि १२ सम्मका ७५ जना विद्यार्थीहरूलाई एक दिने मनोसामाजिक परामर्श कार्यक्रम बिहीबार सञ्चालन गरिएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले नेपाल नमूना माध्यमिक विद्यालयसहित रत्ननगरका पाँचवटा सामुदायिक विद्यालयमा यस्तो परामर्श कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । उनले बकुलहर माध्यमिक विद्यालयका ५४ जना, झुवानी माध्यमिक विद्यालयका ७४ जना, बैरिया माध्यमिक विद्यालयका ६८ जना, माधवपुर माध्यमिक विद्यालयका ९९ जना र नेपाल नमूना माध्यमिक विद्यालयका ७५ जना विद्यार्थीहरूलाई परामर्श दिइएको बताइन ।

कार्यक्रममा नेपाल नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले ‘मनलाई कसरी नियन्त्रणमा राख्ने’भन्ने विषय अत्यन्त प्रभावकारी रहेको विश्वास व्यक्त गरे । उनले परामर्शको अभावमा विभिन्न घटनाहरू बढ्ने गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने र घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

विद्यालयका प्रधानाध्यापक बुद्धि सुवेदीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सही मार्गदर्शन दिने तथा जीवनोपयोगी सीप प्रदान गर्ने बताए । उनले यो मनोसामाजिक परामर्श कार्यक्रमले विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार गर्नुका साथै दैनिक जीवनका चुनौतीहरू सामना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदिप सुवेदीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रम सञ्चालन सहायक महिला विकास अधिकृत नानिमाया पौडेलले गरेकी थिइन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI