अटिजम भएका बालबालिकाको व्यवस्थापनसम्बन्धी दुई दिने तालिम रत्ननगरमा सुरु

लोकप्रिय खबर
२६ वैशाख २०८३, शनिबार

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ अमिलियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा अटिजम भएका बालबालिकाको व्यवस्थापनसम्बन्धी दुई दिने शिक्षक तथा अभिभावक तालिम सुरु भएको छ। रत्ननगर नगरपालिकाको सहयोगमा आयोजना गरिएको यस तालिमको आज पहिलो दिन एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। घर तथा विद्यालयमा अटिजम भएका बालबालिकालाई कसरी स्याहार र व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले वैशाख २६ र २७ गतेका लागि यो तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन सत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी पुरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा रत्ननगर नगरपालिकाको नगरस्तरीय सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिको रूपमा रत्ननगर वडा नम्बर १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको उपस्थिति रहेको थियो।

शिक्षिका सरु पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगरपालिकाका अन्य विभिन्न जनप्रतिनिधि र कर्मचारीहरूको पनि बाक्लो उपस्थिति थियो। अतिथिहरूका रूपमा कार्यपालिका सदस्यहरू यशोदा अधिकारी र बबिता चौधरी, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरे, शिक्षा शाखा अधिकृत निता कट्टेल उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, अटिजम केयर सोसाइटी चितवनका अध्यक्ष सुनिल गैरे, आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर १५ की इन्चार्ज रोजिना गिरी, विद्यालय व्यवस्थापन समितिका सदस्य ज्योति भट्ट र शिक्षक अभिभावक संघका अध्यक्ष युवराज खतिवडा लगायतले पनि कार्यक्रममा आतिथ्यता ग्रहण गर्नुभएको थियो।

यस महत्त्वपूर्ण तालिममा चितवनसहित वीरगञ्ज (पर्सा), मकवानपुर, र नवलपरासी लगायतका विभिन्न क्षेत्रबाट करिब ८० जनाको सहभागिता रहेको छ। जसमा मुख्यगरी अटिजम भएका बालबालिकाका अभिभावक र शिक्षकहरू सहभागी छन्। सहभागीहरूलाई विषय विशेषज्ञहरूले प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ। समावेशी शिक्षा तथा पेडियाट्रिक फिजियोथेरापिस्ट समित कुमार कतिला, बाल मनोविज्ञ (चाइल्ड साइकोलोजिस्ट) सिम्रन बस्न्यात र स्पिच थेरापिस्ट सुष्मा लामिछानेले यस तालिममा सहजीकरण गरिरहनुभएको छ।

कार्यक्रमका अवसरमा विद्यालयमा सञ्चालित अटिजम केयरको वर्तमान अवस्था र चुनौतीहरूको बारेमा पनि जानकारी गराइएको थियो। हाल यस विद्यालयको अटिजम कक्षामा दुई जना स्वयंसेवी शिक्षक र एकजना सहयोगी शिक्षकले मात्र सेवा दिइरहनुभएको छ। पहिलेदेखि नै २६ जना विद्यार्थी अध्ययनरत रहेको यस केन्द्रमा हाल जारी नयाँ भर्ना अभियानमार्फत थप ७ जना नयाँ बालबालिका जोडिएका छन् भने भर्ना अभियान अझै जारी छ। विद्यार्थीहरूको सङ्ख्या बढ्दै गए पनि विद्यालयमा यसको व्यवस्थापनका लागि दक्ष जनशक्ति, आवश्यक भौतिक पूर्वाधार र बालबालिकाको लागि खेल्ने बाल उद्यान (पार्क) को भने निकै अभाव रहेको सरोकारवालाहरूले बताएका छन्।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI