बाढीपहिरो पीडितको सहयोगार्थ शुभारम्भ एकाडेमीमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभा, ८३ हजारबढी राहत संकलन
रत्ननगर, चितवन
चितवनको रत्ननगर १०, हरिहर टोलस्थित शुभारम्भ एकाडेमीले मुलुकमा हालै आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन तथा शोक सभा आयोजना गरेको छ। भदौ १० गतेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा पुगेको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै विद्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, प्रबन्ध निर्देशक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले दिप प्रज्वलन गरी दिवंगत आत्माको चिर शान्तिको कामना गरेका थिए। सो अवसरमा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको थियो। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको चाँडो भन्दा चाँडो जीवितै उद्धार होस् भन्ने प्रार्थना समेत गरियो।
विपद्को यस घडीमा बाढीपीडितको घाउमा थोरै भए पनि मलहमपट्टी लगाउने उद्देश्यका साथ विद्यालयले स्वेच्छिक राहत संकलन अभियान समेत सञ्चालन गरेको थियो। जसअन्तर्गत संकलन भएको कुल ८३ हजार ९ सय ७५ रुपैयाँ राहत रकम प्याब्सन चितवनमार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने जानकारी गराइएको छ। रकम हस्तान्तरणका क्रममा विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्त, रेडक्रस शिक्षक नायक सुनिता लामिछाने, जुनियर रेडक्रस सर्कल अध्यक्ष सोम्या तामाङ र स्काउट ट्रुप लिडर कृतिका न्यौपानेको उपस्थिति रहेको थियो।

नगद राहतका अतिरिक्त बाढीप्रभावित क्षेत्रका बालबालिकाहरूको मनोबल उच्च बनाउने र उनीहरूलाई मानसिक राहत दिलाउने हेतुले अभिभावक तथा विद्यार्थीहरूबाट स्वस्फूर्त रूपमा खेलौनाहरू समेत संकलन गरिएको छ। संकलित खेलौनाहरू रत्नप्रिय क्लबका अध्यक्ष बसन्त रानामार्फत प्रभावित क्षेत्रमै पुर्याएर बालबालिकाहरूलाई वितरण गरिने विद्यालयले जनाएको छ।
सोक सभामा बोल्दै विद्यालयका प्रधानाध्यापक पशुपति उपाध्यायले विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनको असरका कारण नेपाल जस्ता हिमाली तथा पहाडी देशहरूले ठुलो क्षति भोग्नुपरेको बताउनुभयो। नेपालको हरितगृह ग्याँस उत्सर्जनमा ०.४ प्रतिशत मात्र योगदान रहे तापनि यसको ठुलो मूल्य चुकाउनुपरेको भन्दै अबका सन्ततिले वातावरण संरक्षण र पर्यावरण जोगाउन आफ्ना कलम र विचार चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो। प्राकृतिक विनाश रोक्न प्रत्येक व्यक्तिले आफ्नै घरबाट रुख रोप्ने र पर्यावरण जोगाउने अभियानको थालनी गर्नुपर्ने उहाँको भनाइ थियो।

यसैगरी विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले पृथ्वी तात्दै गएको र हिमाल पग्लिँदै गएको वर्तमान विषम परिस्थितिमा सुरक्षित जीवनयापन गर्नु चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो। जन्म संयोग भए पनि प्राकृतिक विपद्का कारण हुने यस्ता अकाल र असाधारण मृत्युले सिंगो देशलाई नै शोकमा डुबाएको उहाँले बताउनुभयो। अबका दिनमा पूर्वाधार निर्माण गर्दा, बसाइँसराइ गर्दा वा यात्रा गर्दा सुरक्षाका उपायहरूमा विशेष ध्यान दिनुपर्ने र वातावरणीय सचेतनामार्फत आगामी जोखिम कम गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो।

शिक्षिक भिमा कुमारी थापाले सञ्चालन गर्नुभएको उक्त संवेदनशील कार्यक्रममा विद्यालय अभिभावक संघका सदस्य नारायण अमगाइ, इको क्लब अध्यक्ष प्रथम दत्त मिश्र, निवर्तमान बाल क्लब अध्यक्ष युगदीप पाण्डे तथा कक्षा ६ की छात्रा युमिसा लाभले कविता वाचनमार्फत आफ्ना शोक अनुभूति प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा सिङ्गो शुभारम्भ परिवारले प्राकृतिक विपद्को यस कठिन समयमा पीडितहरूसँगै रहेको प्रतिबद्धता व्यक्त गरेको छ।










लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस