रत्ननगरको बकुलहर आयुर्वेद अस्पतालमा २ हजारभन्दा बढी बालबालिकालाई खुवाइयो ‘स्वर्णविन्दु’
रत्ननगर, भदौ २३ ।
पूर्वी चितवनको रत्ननगरस्थित बकुलहर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा मंगलबार २ हजारभन्दा बढी बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन गराइएको छ। चिकित्सालयले हरेक महिनाको पुष्य नक्षत्रका दिन सञ्चालन गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत बालबालिकाहरूलाई स्वर्णविन्दु खुवाइएको हो।
अस्पतालका प्रमुख डा. नन्दन कंडेलका अनुसार कुल २ हजार २५ जना बालबालिकाले सेवा लिएका छन्। जसमध्ये ९९२ बालक र १ हजार ३३ बालिका रहेका छन्। उमेर समूहका आधारमा १ देखि २ वर्षसम्मका ७२५ जना र २ देखि ५ वर्षसम्मका १ हजार ३०० जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको हो।
१ देखि ५ वर्षसम्मका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन, स्मरण शक्ति तिखार्न र मौसमी बिरामी हुनबाट जोगाउन यो थोपा अत्यन्तै प्रभावकारी मानिन्छ।
आज ‘जेन्जी शहीद दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको भए पनि अस्पतालले भने सेवा निरन्तर जारी राखेको थियो।
बिदाको दिन परेकाले बिहानैदेखि बालबालिका बोकेर अस्पताल पुग्ने अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यालय वा दैनिक कामको चटारो नभएकाले झन् सहज रूपमा आफ्ना बालबालिकालाई स्वर्णविन्दु खुवाउन पाइएको भन्दै अभिभावकहरूले खुसी व्यक्त गरेका थिए ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस