खैरहनीले राख्यो ४१ जना स्वयंसेवक शिक्षक

चितवन , १० भदौं ।
खैरहनी नगरपालिकाले ४१ जना स्वयंसेवक शिक्षकहरुलाई नियुक्ति दिएको छ । नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयमा पठनपाठन गर्नको लागि नगरपालिकाले उनीहरुलाई राखेको हो । खैरहनीभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न र अपुग रहेको विषयगत शिक्षक परिपूर्ती गर्न स्वयंसेवक शिक्षकहरु राखिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले बताए । नगरपालिकाले २०७६ सालयता विषयगत , कक्षागत र विद्यार्थी संख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयहरुमा स्वयंसेवक शिक्षकहरुलाई खटाउदै आएको छ । विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिने बिषयमा आफूहरुले कुनै सम्झौता नगर्ने भन्दै नगर प्रमुख खनियाँले यस बर्ष मात्रै नगरपालिकाले करिब ८८ लाख रुपैयाँको बजेट नै विनियोजन गरेर स्वयंसेवक शिक्षकहरुलाई खटाएको बताए ।


नियुक्ति पत्र वितरण तथा स्वयंसेवक शिक्षकसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले शिक्षकहरुलाई जिम्मेवार भएर पठनपाठन गराउन निर्देशन दिए । उनले विभिन्न समुदायका विद्यार्थीहरुको लागि गृहकार्य कक्षा समेत गाँउ गाँउमा संचालन गर्ने तयारी गरेको भन्दै त्यसमा समेत सहयोग गर्न आग्रह गरे ।


खैरहनी नगरपालिकाका नगर प्रमुख खनियाँसहित उपप्रमुख कविता उप्रेती र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले स्वयंसेवक शिक्षकहरुलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
आज नियुक्ति पाउनेमा बालविकासतर्फ ११ जना , प्राथमिक तह (कक्षा १ देखी ५) का २५ जना , आधारभूत तह (कक्षा ६ देखी ८) मा गणित र विज्ञान विषयका ४ जना र मा.वि तहको नेपाली बिषयको १ जना रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker