रत्ननगरमा राजश्व सवलीकरण सम्बन्धी अभिमुखीकरण

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा आइतबार राजश्व सवलीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । राजश्व संकलनलाई प्रभावकारी बनाउन र लक्ष्य भेट्टाउन जनप्रतिनिधि र कर्मचारीको भूमिकाबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नगरभित्रका सम्भावित करदाताको पहिचान, उनीहरुलाई करको दायरामा ल्याउन गर्नुपर्ने प्रयास र कर संकलनमा भएका कमजोरीको सुधारका विषयमा छलफल गरेर निकास निकाल्न कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । करको दायरा फराकिलो बनाउदै बाहिर रहेका व्यवसायीलाई करको दायरामा ल्याउन नगरपालिकाले खेल्नुपर्ने भूमिका र नीतिगत सुधारको विषयमा कार्यक्रम केन्द्रित गरिएको उनको भनाई छ ।

कार्यक्रममा सहजीकरण गरेको अलाना इन्टरनेशनल सर्भिसेस प्रा.लिका टिम लिडर विके महर्जनले राजश्व संकलनमा साझा अबधारण, राजश्व नीति,कानुन, कार्यविधिको समीक्षा र विश्लेषण, सम्पतीको बर्गीकरण तथा मुल्याङ्कन, राजश्व सुधार कार्ययोजना, हालको स्रोत परिचालनको अबस्था, आर्थिक ऐन परिमार्जन, राजश्व सुधार कार्ययोजना लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाका उपमेयर तथा राजश्व परामर्श समितिका संयोजक यादवप्रसाद पाठकले नगरभित्रका सम्भावित कददातालाई दायरामा ल्याउन नसकेका कारण लक्ष्य भेट्टाउन नसकिएको बताए ।

पालिकामा बार्षिक १५ करोड बढी राजश्व संकलन हुने सम्भावना हुँदाहुँदै पनि ठुलो संख्यामा करदातालाई दायरामा ल्याउन नसकिएको उनले बताए । समापन मन्तव्य राख्ने प्रमुख प्रशासकीय अधिकृत लम्सालले अहिले सम्मका कमजोरीलाई आत्मसाथ गरी कर प्रशासनलाई सुधार गरेर अगाडि बढ्ने बताए । राजश्व शाखा प्रमुख धर्मराज अघिकारीले चालु आर्थिक बर्षमा १० महिनामा करिब साढे ८ करोड राजश्व संकलन भएको जानकारी दिए । १२ करोड लक्ष्य रहेको सो नगरपालिकालाई अबको दुई महिनामा साडे तीन करोड रुपैया संकलन गर्नुपर्ने दबाब रहेको छ । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य र नगरपालिकाका शाखाप्रमुख तथा वडासचिवहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker