पञ्चतारा महिला साकोसको साधारण सभा उद्घाटन

रत्ननगर । रत्ननगर वडा नं ७ सौराहामा रहेको पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाको २२औं बार्षिक साधारण सभा तथा दसौं अधिवेशन आइतबार उद्घाटन भएको छ ।

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइरालाले साधारण सभा तथा अधिवेशनको उद्घाटन गरिएको हो । आइतबार उद्घाटन भएको सो साधारण सभा असोज १७ गते नयाँ कार्यसमिति चयन गरेपछि समापन हुने छ । साधारण सभाको उद्घाटन समारोहमा चार वटा प्रतिवेदन तथा सहकारीको संस्थागत तथा आर्थिक विकासमा योगदान दिएकाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा संस्थाकी अध्यक्ष सानुमाया थापामगरले संस्थाको प्रगतिप्रतिवेदन, सचिव जमुना सापकोटाले बार्षिक कार्ययोजना, कोषाध्यक्ष सरस्वती थपलियाले आर्थिक प्रतिवेदन,लेखा समिति संयोजक हुमकुमारी महतोले आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा संस्थाकी व्यवस्थापक र्सिजना भट्टले आयव्याय विवरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा २ जना उत्कृष्ट शेयर सदस्य, ८ जना असल ऋणि, ६ जना उत्कृष्ट बचतकर्ता, ३ जना बालबचतकर्ता र ३ वटा उत्कृष्ट समुहलाई सम्मान गरिएको सचिव जमुना सापकोटाले जानकारी दिइन् । कार्यक्रमकी प्रमुख अतिथि चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइरालाले आर्थिक मन्दीको असर अझै तीन बर्ष कायम रहने भएकाले होसियार भएर कारोबार गर्न सहकारीलाई सुझाब दिइन् । भाका नाघेको ऋण सहकारीको टाउको दुखाइको विषयबन्दै गइरहेको भन्दै उनले यसमा शेयर सदस्यहरु बढी जिम्मेवार हुनुपर्ने तर्क गरिन । संस्थाकी अध्यक्ष सानुमाया थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार,वडा नं ७ का वडा सदस्य सुर्यबहादुर तामाङ, संस्थाकी पूर्व अध्यक्ष शान्ता कँडेल, रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल, शेयर सदस्य विन्दा कार्की लगायतले मन्तव्य राखेका थिए । सचिव सापकोटाले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष निर्मला कँडेलले स्वागत मन्तव्य राखेकी थिइन् । सो सहकारीले आर्थिक बर्ष २०७९÷८० मा ६६ लाख ८२ हजार रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ । तीन करोड ९२ लाख ७३ हजार आन्दानी गरेको सो सहकारीले तीन करोड २२ लाख १९ हजार खर्च कटाएर ६६ लाख ८२ हजार रुपैया मुनाफा आर्जन गर्न सफल भएको हो । २०५८ सालमा स्थापना भएको सो सहकारीको शेयर सदस्य २ हजार ८७६ र बालबचतकर्ता १ हजार ४३६ जना रहेका छन् । अधिवेशनले आगामी चार बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker