रत्ननगर वडा नं १५ मा लोकसेवा तयारी कक्षा उद्घाटन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी कक्षा सुरु गरेको हो । गत बर्ष ३९ जनालाई लोकसेवा तयारीका लागि प्रशिक्षणात्मक कक्षा सञ्चालन गरेको सो वडाले चालु आर्थिक बर्षमा थप ३० जनाका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।

लोकसेवा सारथी प्रा.लि खैरहनीको सहजीकरणमा तयारी कक्षा सञ्चालन गरिने छ । माधापुर माविमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटाले तयारी कक्षाको उद्घाटन गरेका हुन । सो अबसरमा उनले तयारी कक्षामा सहभागी भएर लोकसेवा पास गर्ने युवाहरुलाई जनही २० हजार रुपैया पुरस्कार प्रदान गर्ने घोषणा गरे । बैदेशिक रोजगारीको मोहले सरकारी जागिरप्रतिको आर्कषण घट्दै गएको भन्दै उनले युवाहरुलाई विदेश जानबाट रोक्न नगरपालिकाले सीपमुलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

नगरप्रमुख उद्यमशिलता कार्यक्रम मार्फत विना व्याज तीन लाख रुपैया प्रदान गर्दै आएको बताउदै मेयर सापकोटाले उक्त सुविधा लिएर उद्यमी बन्न युवाहरुलाई आग्रह गरे । लोकसेवा परीक्षा उत्तीर्ण गर्न सजिलो नभएको भन्दै मेयर सापकोटाले घुढाधसेर पढ्न तयारी कक्षामा सहभागी युवाहरुलाई आग्रह गरे । सरकारी सेवा चानचुने कुरा होइन उनले यो देशको सेवा गर्ने अबसर पनि हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले मुलुकको सासनलाई सुसासनमा परिणत गर्न सरकारी सेवामा लक्ष्य र अनुभवि जनशक्ति आवश्यक रहेको बताए । उनले निजामती सेवामा जागिरका लागि सुरु गरिएको तयारी कक्षा महत्वपूर्ण अबसर भएको बताए ।

वडाध्यक्ष आशिक तामाङले ६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा खरिदार र नायब शुब्बाको लागि कोर्ष पढाइने बताए । बेरोजगारी समस्याको अन्त्य गर्न र वडा भित्रका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउन दोस्रो पटक तयारी कक्षा सञ्चालन गरिएको उनले बताए । गत आर्थिक बर्षमा ३९ जना र चालु आबमा ३० जनाको लागि तयारी कक्षा सुरु गरिएको उनले बताए । कार्यक्रममा लोकसेवा सारथी प्रा.लि.का प्रबन्ध निर्देशक महेश घिमिरेले कक्षा सञ्चालनबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

वडा सदस्य इमप्रसाद पन्तले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा सदस्यहरु लीलादेवी पोखरेल, शिवप्रसाद तिवारी, रुकमाया परियार, नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker